siddhartha
chunaav bises

मदन भण्डारीको त्यो गर्जन : जुन पढ्दा अहिले पनि रगत उम्लीन्छ

‘महाराज, आँखा नचम्काइबक्सियोस् !’


Saturday, 26 Mar, 2016 9:27 AM

५ चैत २०४७ मा चावहिल काठमाडौंमा आयोजित पार्टीको चुनावी सभामा नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीले दिएको मन्तव्यको पूर्ण पाठ । भण्डारीको ३ जेठ २०५० मा सडक दुर्घटनामा निधन भएको थियो ।

१३,चैत,काठमाण्डौं । यो निर्वाचन प्रचार समितिको कार्यालयको उद्घाटन समारोहमा उपस्थित हुनुभएका आदरणीय जनसमुदायहरू,
हाम्रो पार्टीले यस निर्वाचनमा आफ्ना कार्यक्रम, विचार र धारणाहरूलाई लिएर जनसमुदायसमक्ष आउने फैसला गरिसकेको छ र त्यस आधारमा हामी अब विभिन्न चुनाव क्षेत्रमा आफ्ना कार्यालयहरूको उद्घाटन गर्दै, समितिहरू निर्माण गर्दै, विचारहरू यहाँहरूको अगाडि राख्नको निम्ति आइरहेका छौं ।
सबभन्दा पहिला मैले यहाँहरूलाई अनुरोध गर्नुपर्ने कुरा के ठानेको छु भने, बितेका ३० वर्षमा पञ्चायती व्यवस्था अन्तर्गत जुन खालको निर्वाचन प्रणाली, जुन खालको निर्वाचनको एउटा परिपाटी स्थापित भयो, त्यसले हाम्रो संस्कारमा, हाम्रो चिन्तनमा केही विकृति आइरहेको छ र हामी हाम्रो कार्यक्रमप्रति विश्वासको अभिमत माग्दै अभियानमा सँगसँगै अघि बढ्नको निम्ति यो अनुरोध गर्न आइरहेका छौं ।
अब, जब प्रजातन्त्रीकरणको मुद्दालाई मूल सवालको रूपमा उठाइन्छ, हामीले यसलाई अमूर्त रूपमा अर्थात् त्यसलाई ठोस सवालहरू व्यक्त गर्न नसकिने रूपमा अघि सारिरहेका छैनौं ।


प्रजातन्त्रीकरणको मूल मुद्दा हो, अहिले पनि दरबारद्वारा संरक्षित, दरबारद्वारा पालित–पोषित तत्वहरूलाई या प्रतिगामी–पुनरुत्थानवादी तत्वहरूबाट प्रजातन्त्रमाथि खतरा छ । हामीले आफ्नो घोषणापत्रमा यस ढंगले उल्लेख गरेका छौं । 
यसको तात्पर्य के हो भने यसको एउटा संविधानभित्रै रहेको तात्पर्यको कुरा गर्ने हो भने अहिले पनि संविधानमा संवैधानिक राजतन्त्र कायम भएको छ भन्दाभन्दै पनि, संवैधानिक राजतन्त्रको दुनियाँमा जुन परिभाषा छ, त्योभन्दा बढ्ता अधिकारहरू राजाका हातमा राखिएका छन् र राजा अहिले पनि शक्तिकेन्द्रको रूपमा रहेका छन्, दरबार अहिले पनि शक्तिकेन्द्रको रूपमा रहने होइन, राजा जनताको मान–सम्मान पाएर निश्चित ठाउँमा बस्न सक्छन् र उनी यो देशको इतिहासमा अहिलेसम्म कायम रहेका परम्पराको रूपमा, त्यसको एउटा जीवित प्रमाणको रूपमा राजा रहिरहुन् दरबारमा ।

तर, जुन सार्वभौम सत्ताधिकार हो, जुन प्रजातान्त्रिक अधिकार हो, राजकीय शासनप्रशासन सञ्चालन गर्ने जुन अधिकार हो, त्यो अधिकार जनतामा हस्तान्तरित हुनुपर्छ । अर्थात्, त्यो कुरा जनताले निर्वाध र पूर्णरूपमा प्राप्त गर्नुपर्छ । यो समझदारीको आधारमा त्रिपक्षीय सम्झौता भएको हो । तर यसलाई ठीक ढंगले अभिव्यक्त गर्ने किसिमले पनि यो संविधान बनेको छैन । त्यसै भएको हुनाले यो संविधानमा हामीले आफ्नो आलोचनात्मक समर्थन रहेको कुरा जाहेर गरेका थियौं ।

यद्यपि जस्तो यो संविधानको सवालमा र अहिलेको यो तात्कालिक स्थितिको बारेमा पनि पूर्व वक्ता साथीहरूले केही प्रकाश पारिसक्नुभयो र मैले पनि तिनै सवालहरूलाई यद्यपि दोर्होयाउनु छैन । तर, भन्नु आवश्यक के छ भने यहाँहरूले अर्थात् आम जनसमुदायले कुनचाहिं राजनीतिक पार्टी ठीक हो भनेर फैसला गर्नु परिरहेको बेला, वास्तवमा कुन पार्टीले के भनिरहेको छ ? भन्ने कुराको आधारमा होइन, उसले के गरिरहेको छ ? भन्ने कुराको आधारमा फैसला गर्नुपर्ने हुनाले नेपाली कांग्रेस र हाम्रो पार्टीको नीतिको बारेमा, अनि दरबारप्रतिको नेपाली कांग्रेसको दृष्टिकोण र हाम्रो पार्टीको दृष्टिकोणको बारेमा तुलनात्मक ढंगले अध्ययन गर्नको निम्ति, तुलनात्मक ढंगले विश्लेषण गर्नको निम्ति म केही तुलनाहरू प्रस्तुत गर्न चाहन्छु ।


जब हामी निर्दलीय पञ्चायती व्यवस्थाको नाममा निरंकुश राजतन्त्रले तीस वर्षदेखि सञ्चालन गरेको व्यवस्थाको विरुद्ध आन्दोलनमा उत्रिरहेका थियौं, त्यसबेला हामीले निर्दलीय पञ्चायती व्यवस्थालाई समूल अन्त्य गर्नुपर्छ र बहुदलीय व्यवस्थाको पूर्ण रूपले स्थापना गर्नुपर्छ भन्ने आफ्नो तात्कालिक लक्ष्य बनाएका थियौं ।

तर, नेपाली कांग्रेसले त्यस्तो गरेको थिएन । नेपाली कांग्रेसले संविधानमा रहेको ‘निर्दल’ शब्दलाई हटाउने र राजनीतिक पार्टीहरूमाथि लागेको प्रतिबन्धलाई समाप्त पार्ने कुरा नै यो आन्दोलनको लक्ष्य हुनुपर्छ भन्ने कुरा अघि सारेको थियो । यसका प्रमाणहरू, यसका अभिव्यक्तिहरू यहाँहरू प्रमाणको रूपमा चाहनुहुन्छ भने हामी जुनसुकै बेला पनि त्यो उपलब्ध गराउन सक्छौं ।

हामीले आन्दोलनको सिलसिलामा, यसलाई संयुक्त बनाउने सन्दर्भमा जब नेपाली कांग्रेससँग पटक पटक बातचित ग¥यौं, त्यसमध्ये अन्तिम पटकको बातचितको कुरा हो, लामो बहस, वादविवादपछि स्वयं गणेशमान सिंहले हस्तक्षेप गरेर, ल ठीक छ, कम्युनिष्टहरूले भनेजस्तै, मालेले भनेजस्तै निर्दलीय व्यवस्थाको समूल अन्त्य गर्ने र बहुदलीय व्यवस्थाको पूर्ण स्थापना गर्ने कुरा नहुन्जेलसम्म यो आन्दोलन रोकिने छैन भन्ने कुरालाई नै आफ्नो लक्ष्य बनाएर जाने कुरा उहाँले स्वीकार गर्नुभयो ।

तर, परिणाम के भयो ? आन्दोलनलाई अघि बढाउनको निम्ति यो स्वीकार गरिएको भए पनि वास्तवमा चैत २६ गतेको सम्झैता– नेपाली कांग्रेसले त्यो समझदारीलाई त्यो दुइटा पार्टीको बीचमा भएको सम्झैतालाई पालन गरेन र हामीले त्यसबेला नै भनेका थियौं कि नेपाली कांग्रेसले धोका दियो । नेपाली कांग्रेसले धोका दियो भनिरहेको बेला अरू कुनै पुरानो इतिहासको कुरा हामीले सम्झिएका थिएनौं, इतिहासको कुरा हामीले दोर्होयाइरहेका थिएनौं ।

हामीले त यो भनिरहेका थियौं कि त्यो माघको तेस्रो हप्तामा नेपाली कांग्रेसका नेताहरू र तत्कालीन नेकपा (माले) का नेताहरूको बीचमा बसेर जुन समझदारी भएको थियो कि यो आन्दोलनलाई संयुक्त ढंगले सञ्चालन गर्ने भन्ने कुरा बाहेक यसलाई बहुदलीय व्यवस्थाको पूर्ण रूपले स्थापना नहुन्जेलसम्म लगातार अघि बढाउनुपर्छ भन्ने समझदारी र दरबारमा र यदि राजासँग बातचित गर्नुप¥यो भने नेपाली कांग्रेस र वाममोर्चाको बीचमा पूर्व समझदारी बनाएर दुइटा पार्टीको बीचमा निश्चित समझदारी बनाएर मात्र दरबारमा बातचित गर्न जान सकिन्छ भन्ने जुन समझ्दारी बनाएको थियो, त्यसको विरुद्ध नेपाली कांग्रेसले एक्लै त्यो तय ग¥यो र यस ढंगले मलाई विश्वास छ, त्यो वार्ता जो राजासँग चैत २६ गते राति भयो त्योभन्दा अगाडि नै नेपाली कांग्रेसले राजालाई वचन दिइसकेको थियो ।

त्यो वचन के थियो भने संविधानबाट ‘निर्दल’ शब्द हट्यो भने, राजनीतिक पार्टीहरूमाथिको प्रतिबन्ध हटाइयो भने हाम्रो आन्दोलनको लक्ष्य पूरा भयो, हामी आन्दोलन फिर्ता लिनेछौं भनेर नेपाली कांग्रेसले वचन दिइसकेको थियो र यो विश्वासघात थियो ।

त्यस्तै, जब हामी संविधान निर्माण गर्ने प्रसंगमा अगाडि बढ्यौं, संविधान निर्माण गर्ने बेलामा पनि विभिन्न सवालहरूमा भाषाको सवालमा, जातिको सवालमा, धर्मको सवालमा, राजालाई दिने अधिकारहरूको सवालमा र अन्य विभिन्न सवालहरूमा नेपाली कांग्रेस र वाममोर्चाका प्रतिनिधिहरूको बीचमा मतमतान्तर भयो र ती मतमतान्तरहरू विभिन्न ढंगले केही समझदारीमा, केही सम्झैतामा अगाडि बढे भने केही अहिले पनि त्यसप्रतिका आफ्ना भिन्नाभिन्नै मत र धारणाहरू रहिरहेका छन् ।


अघि भर्खर हाम्रो पद्मरत्नजीले चर्चा गर्नुभयो, जस्तो अहिले यो निर्वाचनमा नेपाली कांग्रेसले पनि दुईतिहाइ बहुमत माग गर्दै जनताको बीचमा आइरहेको छ र नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमत यस खातिर चाहिएको रहेछ कि उसले देशको प्राकृतिक स्रोत र सम्पदाहरू दुई देशको सार्वभौमसत्ता र मुलुकको भौगोलिक अखण्डतालाई वा साँध–सिमानाको सम्बन्धमा विदेशसँग गरिएको सन्धि–सम्झौताहरूलाई अनुमोदन गर्न संसद्को दुईतिहाइ बहुमत चाहिन्छ भनेर संविधानमा जुन भनिएको छ, त्यसलाई हटाउनको निम्ति त्यसलाई संशोधन गर्नको निम्ति र साधारण बहुमतले पनि त्यस्तो सन्धि गर्न पाइनुपर्छ भन्ने कुरा गर्नको निम्ति नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमत चाहिएको रहेछ ।

गणेशमानले बहुत स्पष्ट शब्दमा यो भन्नुभएको छ र उहाँले हामीमाथि आरोप पनि लगाउनुभएको छ कि यो संविधानसमा यस्तो खालको प्रावधान कम्युनिष्टहरूको किचकिचले गर्दा, कम्युनिष्टहरूको लिंडेढिपीले गर्दा राख्नुपरेको हो भनेर उहाँ आफ्नो बहुत खेद व्यक्त गरिरहनुभएको छ ।
त यसैलाई, अब यही मुद्दालाई दुईतिहाइ बहुमत प्राप्त गर्ने कुरा श्रीमान् गणेशमानजी बनाउन चाहनुहुन्छ भने हामी पनि यो मुद्दालाई चुनावको मुख्य मुद्दा बनाउन चाहन्छौं ।
आदरणीय जनसमुदायहरू !
मुलुकको सार्वभौमसत्ताको फैसला गर्ने सवालमा, भौगोलिक अखण्डताको फैसला गर्ने सवालमा, प्राकृतिक स्रोत र सम्पदाहरूको बाँडफाँड गर्ने सवालमा यदि साधारण बहुमत अथवा त्यो कोशी र गण्डकीको सम्झैता गरेको बेलामा जस्तै पूरै संसद्को अनुमति नलिइकन पनि गर्न पाइन्छ र गर्न पाउनुपर्छ भन्ने कुरा यहाँहरूलाई लाग्छ भने मेरो अनुरोध छ, यहाँहरूले रूखलाई भोट दिएर दुईतिहाइ बहुमतले जिताउनुस् ।

तर, त्यस्तो होइन, यदि मुलुकको माया छ, राष्ट्रिय स्वतन्त्रताको माया छ, प्राकृतिक स्रोत र सम्पदा भनेको नेपाली जनताको अक्षय सम्पत्ति हो र त्यसमा नेपाली जनताको अक्षुण्ण अधिकार निहित छ भन्ने कुरा यहाँहरूलाई लाग्छ भने, यदि सार्वभौमसत्ताको सवाल, भौगोलिक अखण्डताको सवाल र देशको प्राकृतिक स्रोत र सम्पदाको सवालमा त्यस ढंगले कुनै पनि एउटा पार्टीले कुनै पनि एउटा साधारण बहुमतले मनपरी गर्न पाउँदैन भन्ने कुरा यदि यहाँहरूलाई जँच्दछ भने मलाई लाग्छ, यहाँहरूले यो सूर्य चिन्हमा मतदान गर्नुपर्छ र यसलाई दुईतिहाइ बहुमतले जिताउनुपर्छ ।

त्यसो हुँदा हामी त केवल अपील गर्न सक्छौं, हामी त राजनीतिक पार्टीको तर्फबाट केवल आह्वान गर्न सक्छौं, हामी आफ्ना विचारहरूको केवल स्पष्टीकरण दिन सक्छौं र मलाई यो पार्टीको महासचिवको हैसियतले यो कुरा बिल्कुल स्वीकार छ, यदि राष्ट्रिय स्वतन्त्रतालाई बन्धक पार्ने कुरा गरिन्छ भने, यदि भौगोलिक अखण्डतामाथि कसैको बलात्कारलाई स्वीकार गर्ने कुरा गरिन्छ भने यस्तो कुराको आधारमा हामीलाई बहुमत चाहिएन, हामीलाई कुनै विजय चाहिएन ।

हामीलाई राष्ट्रको स्वतन्त्रताको कुरा, राष्ट्रको प्रतिष्ठाको कुरा, इज्जत र सम्मानको कुरालाई लिएर बरु हार स्वीकार छ तर हामी यसलाई छोडेर, हामी त्यस्तो केवल कुर्सीमा पुग्नको निम्ति, केवल सत्ताको स्वाद लिनको निम्ति हामीलाई त्यहाँ जानु छैन ।

त्यसो हुँदाखेरी म यहाँहरूलाई अनुरोध गर्छु कि यसलाई मूल मुद्दा बनाइयोस्, यो चुनावमा अब मैले अघि भनें कि हामी केवल अनुरोध गर्न सक्छौं, हामी केवल आफ्ना विचारहरू राख्न सक्छौं, फैसला गर्ने यहाँहरूले हो ।जब यहाँ राष्ट्रियताको सवालको चर्चा गरियो, राष्ट्रिय स्वतन्त्रताको कुरा गरियो, मैले केही अरू दुइटा सवालहरू थप्नै पर्ने ठानेको छु । जब हामी कम्युनिष्टहरू ‘राष्ट्रिय स्वतन्त्रता जिन्दावाद !’ भन्छौं, त्यो कुरा सुन्दाखेरी मलाई लाग्छ, राजा वीरेन्द्रले दरबारमा बसिरहेको बेला जुँगामा ताउ लगाउन सक्छन् ।

यसकारणले हो कि राष्ट्रिय स्वतन्त्रता भनेको त मैले रक्षा भनिरहेको छु, यदि राष्ट्रवादको उसमा मैले त्यसो नगरेको भए यो राष्ट्रियता रहने थिएन भन्ने कुरा राजालाई लाग्न सक्छ । अनि जब हामी प्रजातन्त्रको कुरा गर्छौं, त्यसबेला गणेशमानजीले जुँगा नभए पनि मुख मुसारिरहेको हुनसक्छ, ताकि प्रजातन्त्रको प्रतीक भनेको त हामी हौं ।

यहाँ दुइटा भालेहरू, दुइटा मसिहाहरू, एउटा आफूलाई राष्ट्रवादको मसिहा ठान्छ, अर्काे आफूलाई प्रजातन्त्रको मसिहा ठान्छन् । यी दुइटा मसिहाहरू, जहिले पनि जब राष्ट्रियताको सवाल उठाइन्छ, राजाले जुँगा मुसार्ने, जब प्रजातन्त्रको कुरा उठाइन्छ, गणेशमान अर्थात् मैले प्रतीकको रूपमा भनें नेपाली कांग्रेसले जुँगा मुसार्ने, त्यो एउटा वाहियात ढंगको परिपाटी चलेको छ ।

मैले भन्न खोजेको कुरा के भने २०१७ सालमा राजा महेन्द्रले प्राप्त भएको प्रजातान्त्रिक अधिकारहरूमाथि बुट र बन्दूकले हमला गर्दा आफूलाई खुब राष्ट्रवादी भएको, विकासप्रेमी भएको बहाना गरेका थिए त्यो बहाना दिने कामचाहिं नेपाली कांग्रेसले नै गरेको थियो ।यसमा भ्रम नहोस् कि २०१७ सालमा प्रतिगामी घटना गर्ने, जनताका प्रजातान्त्रिक अधिकारहरू खोस्ने कामको मूल अपराधी भनेको त राजा महेन्द्र हो । यसमा कुनै भ्रम छैन तर अपराधीले पनि अपराध गर्ने मौका तब पाउँछ, जब जसले आफूलाई होइन भन्ने ठान्छ, उसले त्यो मौका प्रदान गर्छ ।

जब हामी घरको दैलोमा चुकुल लगाउन वा आग्लो लगाउन बिर्सेर सुत्छौं भने चोरले भित्र पसेर चोर्ने मौका पाउँछ । जब राष्ट्रिय स्वतन्त्रताको सवालमा नेपाली कांगेसले एक वा अर्को ढंगले गल्तीहरू ग¥यो, त्यो भएपछि राजाले राष्ट्रवादको झ्ण्डा उठाउने मौका पाए र प्रजातन्त्र खोसे । त्यसो भएको हुनाले ३० वर्षसम्म राष्ट्रिय स्वतन्त्रताको नाममा मण्डले राष्ट्रवादलाई पालनपोषण गर्ने र हुर्काउने जुन काम राजतन्त्रले ग¥यो, त्यस्तो मण्डले राष्ट्रवादको, निरंकुश राजतन्त्रको संरक्षण गर्ने राष्ट्रवादको हामी विरोध गर्छौं र यो राष्ट्रिय स्वतन्त्रताको चर्चा गरिरहेको बेला सर्वप्रथम ‘मण्डले राष्ट्रवाद मूर्दावाद !’ भन्ने आफ्नो नीतिलाई यहाँहरू समक्ष राख्न चाहन्छु ।

अर्कोतर्फ जब नेपाली कांग्रेस आफूलाई प्रजातन्त्रको मसिहा ठानेर, आफूलाई प्रजातन्त्रको खुदा र भगवान ठानेर जनताको बीचमा ऊ प्रचार गरिरहेको छ । तर, उसले वास्तवमा मुलुकको स्वाधीनतालाई रक्षा गर्ने, मुलुकको सार्वभौमिक अखण्डतालाई, भौगोलिक अखण्डतालाई रक्षा गर्ने कुरामा बेवास्ता गर्ने मात्रै हैन, वास्तवमा हाम्रो सार्वभौमिकतामाथि गिद्धे दृष्टि लगाउने त्यस्ता खालका वैदेशिक शक्तिकेन्द्रहरूलाई उसले निम्त्याउने र सहयोग गर्ने काम पनि गरिरहेको छ ।

त्यसो हुँदाखेरी हामी राष्ट्रिय आत्मसमर्पणवादलाई पनि मूर्दावाद भन्छौं, त्यस्तै ‘मण्डले राष्ट्रवाद मूर्दावाद’, ‘राष्ट्रिय आत्मसमर्पणवाद मूर्दावाद’ र हामीले त्यो संविधानमा जुन सन्धि गर्दाखेरी संसद्को दुईतिहाइ बहुमतले अनुमोदन गर्नुपर्छ भन्ने कुरा राखेका छौं र त्यसको अनिवार्यतालाई हामीले दृढतापूर्वक स्थापित गरेका छौं, त्यो प्रगतिशील राष्ट्रवादको रक्षाको निम्ति, जहाँ प्रजातन्त्र पनि छ, राष्ट्रिय स्वाधीनता पनि छ ।
त्यस्तो प्रजातन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षाको निम्ति हामीले त्यो राखेका हौं ।

त्यसो हुँदाखेरी हाम्रो प्रगतिशील राष्ट्रवाद, जसको मैले आंशिक रूपमा संकेत गरें, यहाँहरूबाट यो निर्वाचनमा फैसलाको आशा गर्छु र अब यसबाहेक यो संविधानमा अरू पनि, जस्तो महिलाहरूको हकअधिकारको सवालमा चर्चा उठ्दा, हामीले भनेका थियौं, छोरासरह छोरीले पनि पैतृक सम्पत्तिमा अंश पाउनुपर्छ, यो कुरा हामीले राखेका थियौं । त्यसबेला नेपाली कांग्रेसले र राजाको तर्फबाट आएका प्रतिनिधिहरूले त्यसलाई विल्कुल अस्वीकार गर्दै राख्न दिएनन् ।

अब, अहिले यो प्रसंग मैले यसकारणले उठाइरहेको छु कि त्यसपछि, धेरैपछि मैले केही पत्रिकाहरूमा देखें नेपाली कांग्रेसको महिला संगठन र त्यसको अध्यक्ष श्रीमती मंगलादेवी सिंहले केही भन्नुभएछ– ‘हामी छोरासरह छोरीले पनि अंश पाउनुपर्छ भन्ने कुरा गर्छौ ।’
त्यो वास्तवमा जनतालाई झ्ुक्याउने, ठग्ने र गुमराहमा पार्ने एउटा कोशिश मात्र हो र यहाँहरूले नराम्रो ठान्नुहुन्न भने म एउटा नेपाली उखान भनौं कि ‘मान्छेले जब हगिसक्यो अनि दैलो देख्यो ।’ भन्नाले पहिला काम बिगा¥यो र अनि पछि यसो गरेको भए हुन्थ्यो भन्ने कुराको चाहिं सोचविचार र्गयो ।

त्यस्तै ढंगले अब संविधानमा वास्तविकतामा महिलाहरूको सम्पत्तिमाथिको हक, अधिकारको सवालमा संविधानले एउटा निश्चित समान अधिकार स्थापित गर्नुपर्छ भन्ने कुरा जब हामी गरिरहेका थियौं, त्यसबेला यो त हुँदै हुनुहुँदैन भनेर त्यसलाई हटाइयो ।
अनि अहिले, पछि आएर हामी त छोरासरह छोरीले अंश पाउनुपर्छ भनेर भन्छौं भन्नुको तात्पर्य के हो ? जनतालाई गुमराहमा पार्नु हो । आफू महिलामुक्तिको प्रेमी भएको स्वाङ रच्नु हो ।

संविधानसभामा यस्ता पनि मुद्दाहरू छन् र त्यसबाहेक जस्तो भनिरहन जरुरी छैन कि आज नेपाली कांग्रेसको तर्फबाट धेरै ठाउँमा प्रचार गर्दाखेरी कम्युनिष्टहरूका बारेमा लगाइएका अनेकौं लाञ्छनाहरूमध्ये एउटा यो पनि छ कि कम्युनिष्टहरूले धर्म मान्नै दिंदैनन् । वास्तवमा हामीले के भनेका थियौं ? हामीले भनेको कुरा के हो भने राज्य धर्म्निरपेक्ष हुनुपर्दछ र समाजमा धार्मिक स्वतन्त्रता प्रदान गर्नुपर्छ ।
हामीले भनेको यही दुइटा वाक्य हो र यो हामीले कार्यनीतिक रूपमा होइन, तत्कालिक रूपमा मान्छेलाई चित्त बुझउनको निम्ति होइन, हामीले आफ्नो राजनीतिक विश्वास जाहेर गरेका थियौं ।

एक मिनेट समय लिएर यसको व्याख्या गर्ने हो भने यहाँहरूलाई भन्न चाहन्छु कि आजसम्म, ३० वर्षसम्म मुलुकको सार्वभौमसत्ता राजाको हातमा थियो । यो आन्दोलनले सार्वभौमसत्ता राजाको हातबाट खोसेर जनताको हातमा ल्याएको छ । जनताको हातमा ल्याएको छ भन्दाखेरी त यो के ? कुन जनताको हातमा ? कुन जातिका जनताको हातमा ? कुन भाषा बोल्ने जनताको हातमा ? कुन संस्कृति पालन गर्ने जनताको हातमा आएको हो ? यो सार्वभौमसत्ता मलाई लाग्छ, एउटा भाषा, एउटा जाति, एउटा धर्म, एउटा सम्प्रदाय र एउटा संस्कृतिको हातमा आएको होइन ।

यो त नेपाली जनताको हातमा आएको हो जो बहुधार्मिक छन्, बहुजातीय छन्, बहुभाषिक छन् र बहुसंस्कृतिलाई पालन गर्ने जनता छन् । त्यसो भएको हुनाले सबै जनताको हातमा आएको हो र यदि सबै जनताको हातमा सार्वभौमसत्ता अधिकार आएको हो भने सार्वभौमसत्ताको अधिकारको प्रयोग कहाँबाट हुन्छ ? त्यसको प्रयोग राज्यबाट हुन्छ ।

राजनीतिक निकायहरूबाट हुन्छ, राजकीय निकायहरूबाट हुन्छ । हर कसैले त्यो जानेको कुरा हो । त्यसो भएको हुनाले राज्य पनि कुनै एउटा जातिविशेषको, संस्कृति विशेषको हुन सक्दैन । राज्य साझ हो, सम्पूर्ण जनताको सरोकारको कुरा हो । जब सम्पूर्ण जनताको सरोकारको कुरा हो भने तपाईंले राज्यलाई एउटा मात्रै धर्मको राज्य कसरी बनाउन सक्नुहुन्छ ? यही कुरामा हाम्रो बहस, वादविवाद हो ।

राजा त चाहन्थे चाहन्थे, दरबारियाहरू त चाहन्थे चाहन्थे कि हिन्दू धर्मलाई राज्यधर्म बनाइयोस्, हिन्दू राष्ट्र बनाइयोस् । यो त हिजो राजाले ३० वर्षदेखि गर्दै आएको कुरा थियो । तर नेपाली कांग्रेसले पनि त्यही कुरा ग¥यो । संविधान जब आयोगबाट प्रस्तुत भइसकेपछि, मन्त्रिमण्डलले छलफल गर्नेवाला थियो, त्यसबेला आएका थुप्रै बहस विवादहरू यहाँहरूले बिर्सिसक्नुभएको छैन । हामीले भनेका थियौं कि यो आयोगले तयार गरेको संविधान जस्ताको तस्तै आउनुपर्छ ।

अनि हामीले भनेको त्यो कुरालाई गणेशमानजी जस्तो आफूलाई नेपाली कांग्रेसको मात्रै होइन, झण्डै नेपाली जनताको सर्वमान्य समेत ठान्न पुग्ने, त्यस्तो व्यक्तित्वले पनि गणेशमानजी जस्तो आफूलाई नेपाली कांग्रेसको मात्रै होइन, झण्डै नेपाली जनताको सर्वमान्य समेत ठान्न पुग्ने, त्यस्तो व्यक्तित्वले पनि ‘कम्युनिष्टहरू बहु उल्फा कुरा गर्छन्, यो त मस्यौदा हो, त्यसमा रेफ पनि, विन्दु–विसर्ग पनि, कमा पनि यताउता गर्न हुँदैन रे !’

यस ढंगले कम्युनिष्टहरूको विचारको खिल्ली उडाउने उहाँले कोशिश गर्नुभयो । तर जब धर्मकै सवाल उठ्छ भने कि त्यहाँ एउटा कमा लगाइयो, एउटा कमा मात्रै थपियो तर त्यति कमा थप्नाले हिन्दू अधिराज्य हो, हिन्दू राष्ट्र हो भन्ने कुरा यो संविधानमा भएको छ ।

जब नेपाली कांग्रेस यो राज्यलाई हिन्दू अधिराज्य बनाउन चाहन्छ, जब नेपाली कांग्रेस हिन्दूधर्मलाई राज्यले काखमा च्याप्नुपर्छ र अरू धर्मलाई उपेक्षा गर्नुपर्छ भन्ने कुरा गर्छ, उसले वास्तवमा के यहाँका बहुधार्मिक जनताप्रति न्याय गरेको छ ? के धर्मसापेक्ष राज्य कुनै प्रजातान्त्रिक राज्यको परिभाषा हुनसक्छ ? यसको जवाफ नेपाली कांग्रेसबाट चाहिन्छ र यसको जवाफ मैले त पहिलेदेखि माग्दै आएको छु । तर, यहाँहरूले पनि माग्नुपर्छ ।

यसको तात्पर्य के हो भने अहिले अस्ति दलाई लामा नेपालमा आउने भन्ने कुरा विना मन्त्रिपरिषद्मा छलफल, विना बाहिरी छलफल कृष्णप्रसादजीले केही संकेत दिनुभएछ र दलाइ लामा यहाँ आउने कुराहरू भयो । दलाइ लामा जसले आफ्नै कारणले या विभिन्न भनौं तिब्बतको एउटा आफ्नो स्थितिका कारणले राजनीतिक रूपमा निर्वा्सित छन् र उनी केवल धार्मिक नेता मात्र होइनन् ।

उनी यहाँ आउँदाखेरी एउटा नयाँ समस्या हुनसक्थ्यो, त्यो नयाँ समस्या के हुनसक्थ्यो भने, आज चाहे त्यो अमेरिकाको जर्ज बुसले या त्यसको प्रतिनिधि भएर यहाँ जुलिया चाङ ब्लकले, त्यसलाई जुनसुकै ढंगले प्रचार गरे पनि र अनि नेपाली कांग्रेसका नेताहरूले कम्युनिष्टहरूले दलाइ लामालाई आउन दिएनन् भनेर यहाँ बुद्ध धर्म मान्ने जनतालाई कम्युनिष्टहरूको विरुद्ध भड्काउने कोशिश गरे पनि सत्य के हो भने, हामी अहिले राष्ट्रमा कुनै किसिमको अस्थिरता र कुनै किसिमको त्यस्तो एउटा वैदेशिक शक्तिकेन्द्रको अखडा बन्न नपाओस् भन्नको निम्ति हामीले दलाइ लामा जो राजनीतिक उद्देश्यले निर्वा्सित भएका छन्, यसबेला यहाँ आउन दिनुहुँदैन भन्ने कुरा गरेका थियौं ।

म यहाँहरूलाई प्रतिप्रश्न गर्न चाहन्छु कि दलाई लामालाई धार्मिक कारणले, अहिले नेपालमा ल्याउँदा ठीक चिनियाँहरूले आफ्नो आन्तरिक स्थितिको कारणले त्यसलाई विरोध गर्लान् ।तर हामी एउटा स्वतन्त्र र सार्वभौम मुलुक भएको हुनाले एउटा धार्मिक नेतालाई आउन दिन सक्छौं भनेर हामीले आउन दिऔं, यो कुरा नजिर हुनेछ कि छैन ? कि यो दलाइ लामाको लागि मात्र लागू हुने हो ?

दलाइ लामाको निम्ति मात्र लागू हुने होइन भने भोलि शिख धर्मका जो अहिले पनि पञ्जाबतिर खालिस्तानको निर्माणको निम्ति, त्यसैगरी अरू अनेकौं जुन त्यस ठाउँको चाहे त्यो पृथकतावादी आन्दोलन भन्नुहोस्, चाहे त्यहाँको स्वतन्त्रताको आन्दोलन भन्नुहोस्, मुक्तिको आन्दोलन भन्नुहोस्, कतिपय कुराहरू भारतमा पनि चलिरहेका छन्, कश्मिरमा हेर्नुहोस्, पञ्जावमा हेर्नुहोस्, अरू विभिन्न ठाउँमा हेर्नुहोस्, त्यहाँ पनि चलिरहेका छन् र त्यस्तै तिब्बतको सवालमा चीनमा पनि चलिरहेको छ ।

स्वाभाविक रूपले त्यहाँ पनि विभिन्न विचारहरू रहिरहेका छन् ।यदि नेपालले भारतको चाहनामा चीनलाई विभिन्न ढंगले दबाब दिनको निम्ति, चीनको विरोध गरेको कुनै नेतालाई नेपालमा ल्याउन दिने हो भने, अनि चीनको चाहनामा भारतको विरोध गरेको कुनै नेतालाई नेपालमा ल्याउने हो भने के यो हाम्रो राष्ट्रियताको निम्ति, हाम्रो शान्ति र प्रगतिको निम्ति उपयुक्त हुन्छ ?

यही उपयुक्त हुँदैन भन्नाखातिर हामीले अहिले दलाइ लामालाई यस ढंगले यहाँ निम्त्याउने, यहाँ ल्याउने कुराले हित गर्दैन भन्ने कुरा गरेको हो । हामीले बुद्ध धर्मको विरोध गरेको होइन, हामीले यहाँ बौद्ध धर्मलाई मान्ने जनमतको विरोध गरेको होइन ।

मैले सुनेको छु, आज कम्युनिष्टहरूको कारणले गर्दा तपाईंहरूको अर्थात् बुद्ध धर्मको अत्यन्त ठूलो धार्मिक गुरुलाई यहाँ ल्याउन सकिएन भनेर नेपाली कांग्रेसका नेताहरूले प्रचार गर्दैछन् । जब हामीले बुद्ध धर्म र अरू तमाम धर्महरूसहित हिन्दू धर्मसहितको यो नेपालमा राज्य धर्म्निरपेक्ष हुनुपर्छ र सबै धर्मलाई धार्मिक स्वतन्त्रता हुनुपर्छ भनेर भनिरहेका छौं । त्यो ढंगले उसले प्रचार गरिरहेको छ भने सत्य र तथ्य कुन कुराको पक्षमा छ, सच्चाई कुन कुराको पक्षमा छ, ठीक कुन कुराको पक्षमा छ, त्यो फैसला यहाँहरूले गर्नुहोस् ।

जाति, भाषाको सन्दर्भमा पनि र विभिन्न क्षेत्रमा पछि परेका, मुलुकको विकासमा पछि परेका जातिहरूको राष्ट्रिय सभामा प्रतिनिधित्व हुनुपर्छ भन्ने जुन प्रावधान राखिएको थियो, त्यो प्रावधानलाई हटाउन पनि नेपाली कांग्रेसले भूमिका खेल्यो र मलाई लाग्छ, यदि यहाँ, हाम्रो देशमा जाति र भाषाको सवाल उठाउँदा, क्षेत्रहरूको विकासको सवाल उठाउँदा, यति मात्रै होइन कि सरकारी नोकरीमा, शिक्षा, स्वास्थ्यको क्षेत्रमा या सामाजिक त्यस्ता अवसरहरूको क्षेत्रमा केही विशेष संरक्षण प्रदान गरियोस्, त्यस्ता पछौटे जातिहरूलाई केही संरक्षण प्रदान गरियोस्, सवाल यति मात्रै होइन, सवाल योभन्दा पनि बढी छ र योभन्दा पनि बढी सवाल के हो भने मुलुकको भाग्यको फैसला गर्ने राजनीतिक निकायमा जम्मै जाति र क्षेत्रका जनसमुदायलाई सामेल गर्नुछ ।

यसो भएको हुनाले यो मुलुकको भाग्य निर्धारण गर्ने राजनीतिक मामिलामा केही निश्चित जातिहरूले मात्रै हात हाल्ने, केही निश्चित जातिहरूले मात्रै त्यसमा एकाधिकार कायम राख्ने र अरू उपेक्षित र पछौटे जातिहरूलाई राजकीय मामिलामा हात हाल्ने अधिकारबाट वा त्यस्तो स्थितिबाट वञ्चित गरेर केवल सरकारी नोकरीको क्षेत्रमा, शिक्षा र स्वास्थ्यको क्षेत्रमा र अन्य क्षेत्रमा मात्रै केही अधिकार संरक्षण गर्ने हो भने मलाई लाग्छ, त्यसले हाम्रो स्थितिलाई ठीक ढंगले नियन्त्रित गर्न र मुलुकलाई ठीक ढंगले अगाडि बढाउनकोे निम्ति जनशक्ति जम्मा गर्न सक्दैन ।

त्यसो भएको हुनाले हामीले भनेका थियौं कि राष्ट्रिय सभामा यी विभिन्न जातिहरूको निश्चित प्रतिनिधित्व गराइनुपर्छ र त्यसलाई अनिवार्य बनाउनुपर्छ । त्यसलाई नेपाली कांग्रेसले हटायो । जब नेपाली कांग्रेसले हटायो भने मलाई लाग्छ, त्यो जातिका जनसमुदायलाई यसले अन्याय ठानेका हुनसक्छन् । यदि अन्याय ठानेका छन् भने यसको जवाफ नेपाली कांग्रेससँग यहाँहरूले माग्नुपर्छ ।

नेपाली कांग्रेसले यसको जवाफ दिनुपर्छ र हामी त्यसको निम्ति जवाफदेही छैनौं । हामी त त्यसको विरोधमा आफ्नो आवाजलाई, आफ्ना विचारलाई अघि बढाइरहेका छौं र यसो भएको हुनाले जब हामी अहिले यो निर्वाचनमा दुईतिहाइ बहुमतको निम्ति माग गरिरहेका छौं ।

हामीले मागेको दुईतिहाइ बहुमत, संविधानमा भएका यिनै अप्रजातान्त्रिक प्रावधानहरूलाई, यिनै विखण्डनकारी प्रावधानहरूलाई र यिनै पक्षपात गरिएका प्रावधानहरूलाई हटाउनको निम्ति र पूर्ण प्रजातान्त्रिक संविधान निर्माण गर्ने सवालमा ठोस ढंगले अगाडि बढ्नको निम्ति हामीले हाम्रो पार्टीलाई दुईतिहाइ बहुमत दिनुहोस् भन्ने आह्वान गरिरहेका छौं ।

त्यसो हुनाले नेपाली कांग्रेसले आह्वान गरेको, नेपाली कांग्रेसले चाहेको दुईतिहाइ बहुमतको सवाल र कम्युनिस्ट पार्टीले चाहेको दुईतिहाइ बहुमतको सवालमा रहेका भिन्नताहरूलाई यहाँहरूले बुझ्नु जरूरी छ भन्ने म ठान्छु । अब स्वाभाविक रूपले हामीले अहिले प्रजातन्त्रीकरणको मुद्दालाई जो ठोस रूपमा उठाएका छौं, त यसो गर्दाखेरी दरबारसँग भएको नेपाली कांग्रेसको गठबन्धनलाई हामीले उजागर गरिरहेका छौं । प्रतिगामी, पुनरुत्थानवादीहरूसँग उसले गरिरहेको गठबन्धनलाई हामीले उजागर गरिरहेका छौं ।

नेपाली कांग्रेसले पनि आफ्नो घोषणापत्रमा राखेको रहेछ कि हामी पनि प्रजातन्त्रलाई बलियो बनाउन चाहन्छौं । वास्तवमा प्रजातन्त्र कमजोर कहाँबाट भएको छ ? प्रजातन्त्रमाथि खतरा कहाँबाट छ ? सवाल यो हो । केवल भावुक ढंगले, केवल भावनाको प्रेमले अर्थात् काल्पनिक रूपले म प्रजातन्त्र बलियो बनाउँछु भन्ने कुराको आधारमा मात्रै कसैलाई विश्वास गर्न सकिन्न । प्रजातन्त्रमाथि कमजोरी कहाँबाट भइरहेको छ ? प्रजातन्त्रलाई कमजोर के कारणले भइरहेको छ ? ठोस रूपमा त्यसलाई भन्न सक्नुपर्छ ।

हामीले बहुत सुस्पष्ट रूपमा भनेका छौं, दरबारबाट नै प्रजातन्त्रमाथि खतरा छ । नेपाली कांग्रेसले हाम्रो त्यो विचारको विरुद्ध, उसले कम्युनिष्टहरूबाट प्रजातन्त्रमाथि खतरा छ भन्ने कुरा गरिरहेको छ । सच्चाई के हो ? अघि पनि हाम्रो पद्मरत्नजीले थोरै कुरा भन्नुभयो, म यहाँ के भन्न चाहन्छु भने हामीले आफ्नो घोषणापत्रमा, बहुदलीय प्रजातन्त्रको कुरा, प्रत्येक पाँच वर्षमा या संविधानले तोकेको निश्चित अवधिमा आम निर्वाचनद्वारा जनादेश प्राप्त गरेको पार्टीले सरकार निर्माण गर्ने कुरा र यो प्रणालीलाई, यो परिपाटीलाई हामी दृढतापूर्वक रक्षा गर्नेछौं ।

यो हाम्रो राजनीतिक विश्वासको कुरा हो, यो हाम्रो कार्यक्रमको कुरा हो भनेर हामीले घोषणा गरेका छौं र हामीले यो पनि भनेका छौं कि बहुदलीय प्रजातन्त्र भनेको एउटा कुनै राजनीतिक पार्टीलाई सबै क्षेत्रमा एकाधिकार जमाउन खोज्ने खालको कुराको विरोध हो ।
नेपाली कांग्रेसले व्याख्या वा नेपाली कांग्रेसले व्यवहार गरिरहेको जस्तो बहुदलीय प्रजातन्त्रको जुन अवधारणा छ, त्यसको हामी विरोधमा छौं । यसको तात्पर्य के हो भने सरकारी र सार्वजनिक निकायहरूमा कुनै पनि पार्टीले आफ्नो एकाधिकार जमाउनुहुँदैन अर्थात् तिनीहरूलाई आफ्नो एकाधिकारवादी हितको निम्ति प्रयोग गर्नुहुँदैन ।

तिनीहरूलाई स्वतन्त्र र निष्पक्ष राख्नुपर्छ । यही कुरा, नेपाली कांग्रेसले अहिले के गरिरहेको छ ? यो अन्तरिमकालमा नेपाली कांग्रेसले कुन प्रजातन्त्रको नमूना प्रयोग गरिरहेको छ ? नेपाली कांग्रेसले प्रयोग गरिरहेको नमूना यहाँहरूले सञ्चार र प्रशासनिक क्षेत्रमा हेर्न सक्नुहुन्छ । जब मैले यी सवालहरूलाई उठाउँदै नेपाली कांग्रेसले कायम गर्न खोजेको सञ्चारमा रहेको एकाधिकारवाद, प्रशासनलाई आफ्नो हितमा प्रयोग गर्न र एकलौटी बनाउन खोजेको कुराको विरोध गरेको छु ।

त्यसभित्र जहाँ जहाँ नेपाली कांग्रेस परास्त हुन्छ, जहाँ जहाँ नेपाली कांग्रेसले बहुमत हासिल गर्दैन, त्यो ठाउँबाट ऊ जब पलायन कस्छ, यो सवाललाई लिएर जब मैले केही ठाउँमा बोलें, मैले आफ्नो विचारहरू राखें त्यसको बारेमा विभिन्न विकृतियुक्त ढंगले नेपाली कांग्रेसका पत्रिकाहरूमा प्रचार गरिएको छ र अहिले आज निस्किएको पुनर्जागरण मा पनि, अहिले यहाँ साथीहरूले देखाउनुभयो, त्यसमा पनि त्यस ढंगले लेखिएको छ ।

मैले भनेको थिएँ कि, हामीले नेपाली कांग्रेसलाई अब यो आम निर्वाचनपछि खोज्न भारत जानुपर्ने हो कि ? यो चिजलाई अहिले अखबारहरूमा झ्ण्डा बनाएर मदन भण्डारीले यस्तो उल्फा कुरा ग¥यो भनेर भनिंदैछ । मदन भण्डारीले कुन प्रसंगमा भनेको हो ? त्यो प्रसंग त म अहिले यहाँ पनि राख्न सक्छु ।मदन भण्डारी मरिहालेको छैन । मदन भण्डारी मरेर केही फरक पार्दैन, यो एकीकृत पार्टी कहिल्यै मर्नेवाला छैन । त्यसो हुँदाखेरी जब जनतालाई भ्रमित पार्नका निम्ति यसखालका कुरा गरिन्छ भने मैले त्यो प्रष्टीकरण दिनैपर्छ । मेरो प्रष्टीकरण के छ भने, नेपाली कांग्रेसका नेताहरू हो ! प्रजातन्त्रको नाममा प्रजातन्त्रको स्थापनाको निम्ति यदि तपाईंहरू साँच्चै हार्दिक दलले आउन चाहनुहुन्छ भने प्रजातान्त्रिक संस्कार पनि त हुनुपर्छ ।

प्रजातान्त्रिक संस्कार भनेको के हो ? अरू धेरै कुरा होला, म धेरै कुरामा व्याख्यामा जान चाहन्न । तर प्रजातान्त्रिक संस्कार भनेको यो पनि हो कि जनताले बहुमतको विश्वास दिए भने त्यसअनुरूप जिम्मेवारी पूरा गर्ने र बहुमत आएन भने अल्पमतमा परेर पनि रचनात्मक ढंगले काममा लागिरहने, जनताको फैसलामा हार्दिक ढंगले समर्थन गर्ने, यो प्रजातान्त्रिक संस्कार हो । अनि कांग्रेसको यस्तो संस्कार छ त ? कांग्रेसको यस्तो संस्कार छैन ।

यो मेरो दावा हो र मलाई खुशी लाग्नेछ कि नेपाली कांग्रेसले यो मेरो दावालाई खण्डन गर्दै झूटा सावित गराइदिने हो भने मलाई आत्मालोचना गर्न पनि त खुशी लाग्नेछ । यसकारणले कि त्यसले मुलुकको कल्याण हुनेछ ।२०३६ सालमा शिक्षकहरूले आफ्नो रगत दिएर शिक्षक संगठन निर्माण गरे । त्यो शिक्षक संगठन कुनै एउटा पक्षको मात्रै होइन, त्यो शिक्षक पक्षको संगठन थियो, त्यो राजनीतिक पक्षको संगठन थिएन । त्यसले पञ्चायती तानाशाहीको विरुद्ध लामो र एउटा बलिदानी ढंगको पनि संघर्ष र्गयो र शिक्षकहरूको प्रसिद्ध संगठनको समेत संघर्ष जोडिएर यो निर्दलीय पञ्चायती व्यवस्थालाई र निरंकुशतन्त्रलाई ध्वस्त पार्न सकियो ।

अब नेपाली कांग्रेसले त्यसपछाडि हे¥यो कि शिक्षक संगठनमा त वामपन्थीहरूको बहुमत छ । वामपन्थीहरूको बहुमत भएको हुनाले शिक्षक संगठनमा बस्न सकेन नेपाली कांग्रेस । अनि उसले नेपाल शिक्षक संघ बनायो ।

 जब वामपन्थीको बहुमत छ भनेर तपाईं कुनै संगठनमा बस्न सक्नुहुन्न, त्यसैगरी कर्मचारीहरूको युनियनमा पनि वामपन्थीहरूको प्रभाव बढ्ता छ भनेर अर्को कर्मचारी कांग्रेस बनाएर तपाईं अलग हुनुहुन्छ, अनि त्यही बेला झपामा गएको बेला, मलाई साथीहरूले भन्नुभयो कि नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताहरूले के भनेछन् भने यो झपामा कांग्रेसको प्रतिद्वन्द्विता नै हुँदैन ।

त यो प्रतिद्वन्द्वितै हुँदैन भन्ने कुरालाई आफ्नो हिसाबले बुझ्ेर मैले त्यहाँ के अभिव्यक्त गरें भने यहाँ पनि नेपाली कांग्रेसको बहुमत छैन भनेर झापाबाट कांग्रेस भागेछ । ल ठीक छ, अहिले त झापाबाट भाग्यो, भोलि पचहत्तरै जिल्लामा वामपन्थीहरूको बहुमत हुनेछ र वामपन्थीहरूको बहुमत भयो भने त्यसबेला, नेपाली कांग्रेस कहाँ जाला ?

मैले यो चिन्ता प्रकट गरेको हुँ । अब तपाईंहरू नै भन्नुहोस्, मैले के बिराएँ ? यदि प्रजातान्त्रिक संस्कार थियो भने नेपाली कांग्रेसले शिक्षक संगठनमै बस्नुपथ्र्यो र उसले अहिलेको निर्वाचनमा भएन, अर्को निर्वाचनमा बहुमत ल्याउने आँट गर्न सक्नुपथ्र्यो ।

कर्मचारी युनियनमा वामपन्थीहरूको बहुमत उसलाई लागेको छ भने उसले त्यही कर्मचारी युनियनभित्र अल्पमत भएर बस्न सक्नुपथ्र्यो र उसले फेरि अर्को निर्वाचनमा प्रजातन्त्रवादीहरूको बहुमत ल्याउने ढंगको कुरा गर्न सक्नुपथ्र्यो । तर उसले त्यस्तो गरेन । उसले त्यहाँबाट अलग्गै खिचडी पकाउन थाल्यो ।

ठीक छ, देशभित्रै त्यस्तो अवसर हुन्जेलसम्म त अलग खिचडी पकाउनुहोला तर देशमा नै वामपन्थीहरूको बहुमत आयो भने गणेशमानजी कहाँ जानुहुन्छ तपाईं ? मैले यो कुरा भनिरहेको बेला, मैले नेपाली कांग्रेसको अप्रजातान्त्रिक संस्कारमाथि प्रहार गरेको हुँ र पुनर्जागरण जस्ताले व्यक्तिगत उत्तेजना फैलाउने कुरा गरेर मलाई लाग्छ, त्यसले मलाई केही गर्नेवाला छैन ।

भन्नुको तात्पर्य के भने उसले व्यक्तिगत रूपमा मदन भण्डारीलाई यस ढंगले उकास्ने र मदन भण्डारी कुनै एउटा फौजदारी गर्नको निम्ति लाठी–डण्डा बोकेर मैदानमा उत्रेजस्तो उत्रियोस् भन्ने बनाउन चाहेको होला । म स्वयं यत्तिको विवेक राख्छु कि कसले, कसरी, कुन उद्देश्यले, के कुराहरू गरिरहेको छ भन्ने कुराको विश्लेषण म पनि गर्न सक्छु ।

त्यसो हुँदा नेपाली कांग्रेसलाई मेरो यसबारेमा चुनौती छ कि यो एकीकृत पार्टीले अगाडि सारेको कार्यक्रमको खण्डन गर्दै तपाईंहरू आउनुहोस् । यसको निम्ति स्वागत छ । अब यस कुराको निम्ति रचनात्मक ढंगले प्रतिस्पर्र्धा गर्नको निम्ति त हामीले हाम्रो वचनबद्धतालाई हजारौं पटक दोर्होयाइरहेका छौं र हामीले साथसाथै यो पनि भनिरहेका छौं कि प्यूठानमा गएर गिरिजाबाबुले जुन खालको नाटक रचेर आफूलाई तुरुन्तै एउटा हिरो बनाउने, तुरुन्तै एउटा मसिहा बनाउने जुन कल्पना गर्नुभएको थियो, त्यसको त हावा फुस्कियो ।

तर, त्यसबाहेक पनि धेरै ठाउँका कुरा म अहिले नै यहाँ उल्लेख गर्न सक्छु । महोत्तरीको कुरा हो, मकवान पासवानलाई हत्या गर्ने, त्यो घटनामा नेपाली कांग्रेसको चौवन्नी सदस्य लिएको, चारतारे झण्डा ओढेको हत्यारो संलग्न थियो ।
झापामा लक्ष्मणबहादुर रानामगरलाई हत्या गर्दाखेरी यहाँहरूलाई आश्चर्य लाग्ला, साँच्चै भन्ने हो भने ३० वर्षे पञ्चायती कालमा पनि त्यस खालको निर्मम, जघन्य र त्यस खालको ज्यादती भएको थिएन । नेपाली कांग्रेसको सदस्यता लिन अस्वीकार गरेवापत लक्ष्मणबहादुर रानामगरले मारिनुर्पयो । 

कमसेकम पञ्चायतमा म हलो जोतेर खान्छु, म आफ्नो पेशा व्यवसाय गरेर खान्छु बाबा ! म राजनीतिमा लाग्दिनँ, राजनीतिमा तिम्रै एकाधिकार भयो भनेर छोडिदिंदा, कमसेकम जनताको ज्यान त सुरक्षित हुन्थ्यो । अब अहिले त म तिम्रो सदस्यता लिन्न भन्ने कुराको आधारमा ज्यान गुमाउनुपर्छ । त्यो नेपाली कांग्रेसको सदस्यता लिएका र नेपाली कांग्रेसको कार्यकर्ता बनेका व्यक्तिहरूले, त्यस्ता गुण्डाहरूले गरेको हत्या हो ।

अनि मैले रूपन्देहीको सुरजपुराको खबर प्राप्त गरें कि त्यहाँ हाम्रो तर्फबाट सांस्कृतिक कार्यक्रम गरिएको थियो । त्यो सांस्कृतिक कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट गएर हमला गरियो र त्यो हमलामा जब वाद–प्रतिवाद भयो, पछि भैरहवा र बुटवलबाट ट्रक र बसहरूमा अनेकौं गुण्डा, मण्डले र त्यस्ता बदमास तत्वहरूलाई लाठी, छुरी, भाला जस्ता हतियार दिएर त्यतातिर पठाइएको थियो ।

लमजुङको बाहुनडाँडा भन्ने ठाउँमा हाम्रा कार्यकर्ताहरूलाई त्यही ढंगले सांघातिक हतियार बोकेर घेर्ने र कुटपिट गर्ने कुराहरू गरियो । देशका विभिन्न भागमा यसखालका हिंसात्मक उपद्रवहरू मच्चाउने कुरा गरिंदैछ र त्यसमा जहाँसुकै पनि नेपाली कांग्रेसका चौवन्नीहरू संलग्न भएका छन् । अहिले मलाई त्यस्तो तथ्यांक उपलब्ध छैन, ती चैते–वैशाखे कांग्रेस हुन् कि त्योभन्दा पुराना कांग्रेस पनि हुन् ? यसमा छानबिन गर्न बाँकी नै छ ।

तर जे होस्, अहिले आएका नयाँ कांग्रेसीहरू, तिनीहरू निश्चित रूपमा कम्युनिष्टहरूको विरुद्ध र खासगरिकन हाम्रो पार्टीको विरुद्ध हिंसात्मक विप्लव मच्चाउँदै आइरहेका छन् र त्यसलाई संरक्षण गर्ने काम गिरिजाबाबुले केन्द्रमा बसेर महामन्त्री भएर गरिरहनुभएको छ । अनि सर्वमान्य भएका गणेशमानजीले पनि त्यसलाई सुनेर चुपचाप बस्नुभएको छ ।

के भन्नुहुन्छ गणेशमानजी ? चाँडै मुख खोल्नुहोस् ताकि समय बितिसकेपछि फेरि फर्कंदैन । भन्नुको तात्पर्य के हो भने आज सुरजपुरामा, लम्जुङको बाहुनडाँडामा या त्यो महोत्तरीमा या झापामा या अरू विभिन्न ठाउँहरूमा जहाँ कांग्रेसले गुण्डागर्दी उकासेको छ, जहाँ कांग्रेसी कार्यकर्ताहरूले गुण्डागर्दी उकासेका छन्, यस्तो नठाने हुन्छ नेपाली कांग्रेसले कि कम्युनिष्टहरू अब हातमा दही जमाएर बसेका छन् ।

हामी सहन्छौं प्रजातन्त्रका खातिर, हामी सहन्छौं शान्ति र सुव्यवस्थाका खातिर । तर हामी यो सहँदैनौं कि हाम्रो अपमान होस्, जनताको अपमान होस् र अन्यायी, अत्याचारी, बदमास तत्वहरूले फेरि जनताको टाउकोमा टेक्ने, जनतामाथि घोडा चढ्ने दुस्साहस गरुन् । त्यहाँसम्म सहने हाम्रो सहनशीलता छैन र हामी कम्युनिष्टहरू सहनेवाला छैनौं र जब हामी पनि सहँदैनौं, जब हामी पनि फर्कन्छांै तिमीहरूतिर अनि त्यसबेला दुनियाँले देख्नेछ, मसल नेपाली कांग्रेसका गुण्डाहरूको हातमा मात्रै छ कि मसल जनताको हातमा पनि छ ! यसो भएको हुनाले त्यो स्थिति आइनहालोस् ।

झण्डै एक दर्जनसम्म पुगिसकेका अधिराज्यभरिका घटनालाई लिएर विभिन्न कुराहरू गर्दै नेपाली कांग्रेसका नेताहरूसँग आचारसंहिता बनाऔं, बसेर बातचित गरी समस्या हल गरौं भन्दै जुन किसिमले हामीले कुरा उठाएका छौं, यसलाई विभिन्न किसिमले बेवास्ता गरेर, हिंसात्मक उपद्रवहरूलाई उकास्दै जाने दर्जनौं घटना घटिसकेका छन् ।

अब यस्तै हो भने सधैंभरि हामी पनि सहेर जानेवाला छैनौं । त्यसो हुँदा गणेशमानजी मौका गुम्न नदिनुहोस् । जे भन्नुहुन्छ, तपाईं पनि चाँडै मुख खोल्नुहोस्, म यो आह्वान गर्न चाहन्छु । मैले भन्न खोजेको कुरा के भने हामीले त रचनात्मक प्रतिस्पर्धा पो चाहेका थियौं ।
हामीलाई त कार्यक्रमको आधारमा पो जनताले मन पराए, शासन सत्तामा गएर योग्यतम सरकार पनि दिन सक्छौं । जनतालाई अहिले त्यो पत्यार लाग्दैन कि कम्युनिष्टहरू अहिले त्यस ढंगले नजाउन्, अहिले कम्युनिष्टहरू त्यो ढंगले गर्न सक्दैनौं, त्यो चाहिं कांग्रेसले नै गर्न सक्छ भन्ने यहाँहरूलाई लाग्छ भने ठीक छ, जनताले कांग्रेसलाई नै कुर्सीमा आसीन गराउनुहोस् ।

हामी त्योभन्दा तल्तिरै, गजरामा बसेर, चटाइमा बसेर, तल धुलामा बसेर जनताको सेवा गरिरहौंला । यसको निम्ति हामी वचनबद्ध छौं । तर रचनात्मक कार्यक्रममा प्रतिस्पर्धा गर्न नसकेर अनि केही ध्वंस र विप्लवका कुराहरूलाई मच्चाउँदै कम्युनिष्टहरूलाई तर्साउन खोज्ने हो भने मार्कोसले पनि त्यस्तो गर्न सकेन, च्याङकाइसेकले पनि त्यस्तो गर्न सकेन, रूसको जारले पनि गर्न सकेन र बुसका पनि छक्का चुँडिरहेका छन् ।
मैले यहाँ नाम किन लिइरहनु र्पयो र ? यहाँका मार्कोस र अनि यहाँका नेपाली कांग्रेसभित्रका मार्कोसहरू, उनीहरूले पनि त्यो कुरा नोट गरेर राखे हुन्छ । हामी पराजय स्वीकार गरेर, पिठ्यूँ फर्काएर मैदान खाली गर्नेवाला छैनौं ।

आज जुन एउटा रचनात्मक कार्यक्रमको आधारमा हाम्रो अभियान अगाडि आइरहेको छ, दरबारप्रतिको आफ्नो सम्बन्धको कुरा, जनताप्रतिको आफ्नो सम्बन्धको कुरा सबैले खुलस्त रूपमा जाहेर गर्नु छ र दरबारको बारेमा हाम्रो तर्फबाट केही भ्रम पाल्नु र भ्रम राख्नु जरूरी छैन ।

हामीले त यो भनेका छौं जुन त्रिपक्षीय सम्झैता हो, त्यो त्रिपक्षीय सम्झौतालाई पालन गरेर ढुक्कसँग कुनै हात नलम्काइकन, आँखा नचम्काइकन राजा यदि बसिरहन्छन् भने अहिले हामीलाई केही आपत्ति छैन । राजा मान–सम्मान पाएर बसिरहुन् । यो कुरा सुन्दाखेरी, यो कुरालाई हामीले बाहिर अभिव्यक्त गर्दाखेरी धेरै ठाउँबाट हाम्रा केही कम्युनिष्ट आन्दोलनभित्रकै मित्रहरूले हामीलाई भनेका छन्– यिनीहरू त राजावादी भए ।

अब मैले यसको धेरै ठाउँमा खण्डन गरेको छु र म यहाँ पनि दुई शब्द के राख्न चाहन्छु भने अहिलेको यो शक्ति–सन्तुलनको स्थितिमा, वर्गसंघर्षको स्थितिमा राजाले शान्तिका साथ हकअधिकार र राजनीतिक अधिकारका कुराहरू जनतालाई सुम्पिएर मानसम्मानको उपभोग गर्दै त्यस ढंगले बसिरहन्छन् भने अहिलेलाई हामीलाई कुनै आपत्ति छैन भनेका हौं र यो भन्दाखेरी अर्थात् राजासँग सम्झौता गर्दाखेरी हामी अराजावादी भएका छैनौं, हामी राजावादी होइनौं । नोट गरेर राखे हुन्छ पत्रकार बन्धुहरूले, कृपा गरेर यो लेखिदिए हुन्छ कि यो एकीकृत पार्टी राजावादी पार्टी होइन, राजालाई मान्ने हाम्रो राजनीतिक विश्वास होइन । राजालाई मान्नु बाध्यता हो ।

अहिलेको स्थितिको यो कुरा नारायणहिटीले पत्तो पाए पनि केही बिग्रँदैन । तर मेरो बुद्धिजीवीहरूलाई अनुरोध, पत्रकारहरूलाई एउटा अनुरोध छ कि कुरा के भने तपाईंहरूले कहिल्यै राजा वीरेन्द्रलाई मौका पाएर सोध्नुभएको छ ? कि महाराज नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादीप्रति महाराजको के धारणा छ ?

अब यो मेरो प्रश्न सुन्दा धेरैलाई यसले बडो अचाक्ली र नहुने खालको प्रश्न र्गयो भन्ने पनि त मनमा लाग्ला । किन ? हामी दुइटा राजनीतिक पक्षहरू, दुइटा राजनीतिक शक्तिहरू, राजा एउटा शक्ति हो र कम्युनिष्ट अर्को शक्ति हो । अनि त्यसमा के त्यस्तै नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जम्लाहा हात गरेर उभिनु परोस् र राजाले चाहिं हामीसँग जम्लाहा हात गर्नु नपरोस् । त्यसो हुँदा यो पारस्परिक सवाल हो ।
अहिले त राजाले पनि हामीलाई समाप्त पार्न चाहेका थिए, सकेनन् । सकेको भए राजाले हामीलाई यस ढंगले मैदानमा आउन दिने थिएनन् । धेरै त उनले समाप्त पनि पारे र कुनै पनि फटाहाले राजाको अनुकम्पाद्वारा यो प्रजातन्त्र आएको छ भनेर प्रचार गर्छ भने गर्दै रहोस् । चैत २७ गते गिरिजाबाबुको पनि त्यस्तै भनाइ थियो ।

तर पनि दुनियाँलाई थाहा छ कि २०४६ साल फागुन ७ गतेदेखि चैत २६ गतेसम्म यहाँ सयौं आन्दोलनकारीहरू जुन हताहत हुनुर्पयो, त्यो अरू कसैको आदेशले होइन, त्यो मरिचमानको कुनै त्यस्तो बुता थिएन कि मान्छे मार्न आँट गरोस् त्यसले ।

त्यो त महाराजाको कृपा हो भन, यत्रो घोडामा सवार भएर, मदले मात्तिएर, आँखा चिम्लिएर तीस हजारभन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनुपर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट ओर्लिएर आन्दोलनकारीहरूसँग सम्झैता गर्न आउनुर्पयो । महाराजले, बादशाहले घोडाबाट ओर्लिएर जम्लाहा हात गर्नुर्पयो ।

त्यसो हुँदा यो अनुकम्पाले आएको प्रजातन्त्र होइन र अब पनि यो थाहा पाएर केही बिग्रदैन । तर मैले भन्न खोजेको कुरा के हो भने यो बाध्यताको कुरा हो कि हामीले यसबेला राजासँग सम्झौता गर्नुर्पयो र अब यो बाध्यतापूर्वक नै सम्झौता गरिएरभए पनि हामी फेरि वचनबद्धताप्रति इमानदार भएर उभिन चाहन्छौं ।

मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज । हात नलम्काइबक्स्योस् ! आँखा नचम्काइबक्स्योस् ! ! आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् ! ! ! र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुर्पयो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् । यसो भएको हुनाले यो त बाध्यताको कुरा हो र यदि अघि मैले अनुरोध गरें, यहाँहरूसँग कि राजासँग प्रश्न गर्ने हो भने मलाई लाग्छ, शायद राजाले पनि भन्नेछन् कि यो त एउटा बाध्यताको कुरा हो, म त कहाँ कम्युनिष्ट मान्छु र ? यसो हुनाले यो पारस्परिक कुरा हो ।

अब जहाँसम्म शत्रुसँग सम्झैता हुन्छ कि हुँदैन ? विरोधीसँग सम्झौता हुन्छ कि हुँदैन ? भनेर भन्नेलाई, सम्झैता हुन्छ र यदि कोही पनि आन्दोलनको व्यवहार देखेको, वर्ग–संघर्षको कार्यनीतिक विज्ञानमा थोरै पनि जानकार कुनै व्यक्ति छ भने मलाई लाग्छ, उसले अस्वीकार गर्न सक्दैन र जनताको व्यावहारिक जीवनमा पनि त्यो अस्वीकृत हुँदैन ।

भन्नुको तात्पर्य के हो भने मैले धेरै ठाउँमा दोर्होयाइसकेको छु, यहाँको घरमा डाँका आयो अचानक, तपाईं निहत्था भएर बस्नुभएको छ, कुनै तयारी छैन, डाँकाले छातीमा बन्दूक तेस्र्याएर– ले तेरो धन दौलत कहाँ कहाँ छ, होइन भने म तँलाई सिध्याइदिन्छु भन्यो भने तपाईंले के गर्नुहोला ? मलाई लाग्छ, तपाईं बुद्धिमान हुनुहुँदोरहेछ भने ल भैगो मेरो धनदौलत फलानो ठाउँमा छ लिएर जाऊ र मलाई कृपया तिम्रो राइफालको प्रिय संगतबाट एकछिन मुक्ति देऊ ।

निश्चय पनि यहाँहरूले त्यो भन्नुहुनेछ, डाँकासँगको सम्झैता भयो कि भएन यो ? अब डाँकासँगको यो सम्झैता भयो भने डाँकालाई धनसम्पत्ति दिएर अनि डाँकाबाट ज्यानचाहिं अहिलेलाई जीवित रहन पाउने एउटा सम्झौता भयो भने निश्चित हो यो सम्झौता हो । अनि यो सम्झौता गर्ने त्यो इमानदार नागरिक डकैत भयो र ? त्यसलाई कसैले हो भनेर मान्न तयार हुन्छ ? मलाई लाग्छ, जसको बुद्धि बिग्रेको छैन, त्यसले भन्दैन ।
तर ठीक यही कुरा अर्को ठाउँमा लागू हुन्छ, कुनै डाँका हिंडिरहेको छ, एउटा मान्छेले ल तिमीसँग खर्च रहेनछ, कुनै ठाउँमा अप्ठेरो पर्न सक्छ, यो सय रुपैयाँ, हजार रुपैयाँ तिमी लिएर जाऊ मौकामा काम आउन सक्छ र राम्रो गरी डकैती डालेर धेरै सम्पत्ति लिएर आयौ भने मलाई पनि विचार गर है, भनेर दियो भने, त्यो पनि डाँकासँगको सम्झौता हो ।

तर योचाहिं डकैत नै हो । त्यसो हुँदा सम्झौता पनि हेर्नाका हुन्छन् । परिस्थिति अनुसारका हुन्छन् । त्यसो भएको हुनाले मैले भन्न खोजेको कुरा के हो भने परिस्थितिले शत्रुसँग पनि सम्झैता गर्ने स्थितिमा पु¥याउँछ । हामीले त्यही सम्झैता गरेका हौं ।
ढाँट्नु केही जरूरी छैन । हाम्रा अगाडिका दस्तावेजहरूले सुस्पष्ट रूपमा तोकेका छन् कि यो मुलुकको प्रजातन्त्र र राष्ट्रियताको एक नम्बर दुस्मन भनेको राजतन्त्र हो । हामीले त्यो घोषित गरेका छौं । फिर्ता त लिएका छैनौं नि हामीले ? किन फिर्ता लिने ?

जब यो तीस वर्षको शासन प्रणाली राजाले चलाएका थिए, राजाको हुकुमको आधारमा मुलुकको भाग्य र भविष्यको रेखा कोरिन्थ्यो । अनि त्यसबेला यो तीस वर्षमा यदि मुलुक उन्नत भएर माथि पुगेको भए राजाको जयजयकार गर्न सकिन्थ्यो । जब मुलुक बर्बाद भएर दुनियाँको दोस्रो नम्बरको गरीब भइसकेको छ, यसको अपजसचाहिं कसले बोक्ने त ?

जोसुकै, हिजोको पाले पहरेदारले सिकार मारे पनि महाराजकै गोलीबाट र्मयो भन्ने संस्कारबाट हामीले मुक्त हुनुपर्छ र यो सामन्ती संस्कारलाई फाल्नुपर्छ । अर्थात् राम्रोचाहिं भयो भने राजाले गरेको, नराम्रो भयो भनेचाहिं अरू अरूले गरेको या हाम्रो कर्मले गर्दा भएको भन्ने कुसंस्कारबाट हामी मुक्त हुनुपर्छ । त्यसो हुँदा बर्बादी गरेको पनि राजाले हो र यदि राम्रो काम गरेको भए पनि राजाले हुन्थ्यो । मूल कुरा राजाको नेतृत्व थियो ।
यसो भएको हुनाले त्यसबेला त्यो निर्दलीय व्यवस्थाले मुलुकलाई सर्वनास पारेको हुनाले यसको मुख्य शत्रु राजतन्त्र हो भन्ने कुरा हामीले भनेका थियौं र त्यही मुख्य शत्रुसँग संघर्ष गर्दै यो प्रजातन्त्र हासिल भएको हो । यसो भएको हुनाले त्योसँग वर्ग–संघर्षको क्रममा हामीले सम्झौता गर्नुपरेको हो र मलाई अब केवल सिद्धान्तको रक्सी पिएर, मैले यो केही ठाउँमा चर्चा गरेको हुनाले थुप्रै ठाउँमा मलाई मीठा नमीठा कुराहरू सुनाइयो र धेरै लेखियो ।

म फेरि पनि भन्न चाहन्छु, केवल सिद्धान्तको रक्सी पिएर वस्तुगत स्थितिको विश्लेषण नगरिकन यदि लकिरको फकिर भएर चलिन्छ भने त्यसले आन्दोलनलाई कुनै गति दिन सक्दैन । त्यसो भएको हुनाले मैले यो जडसूत्रवादको खण्डन गर्न खोजेको हुँ । त्यो कुनै पुस्तक पूजाको, कठमुल्लावादको मैले विरोध गर्न खोजेको हुँ, जसले कम्युनिष्ट आन्दोलनमा अझै पनि दुःख दिइरहेको छ ।

हामीले सामन्तवादको उन्मूलनको कुरा गरेका छौं । मेरो हातमा एउटा चिट आएको छ । चिटमा के भनिएको छ भने, कसैको चार बिघा जमिन छ, राजनीतिक कामको हिसाबले वा अरू कुनै कारणले आफ्नो जमिनबाट टाढा बसेको छ, जागिर गर्छ वा अरू केही काम गर्छ । उसको जमिन अरू कोहीले जोतिरहेको छ । त्यो जमिन जोताहाकै हुन्छ कि जो मालिक हो उसैको हुन्छस कि के हुन्छ ? नेकपा एकीकृत (माले) को कार्यक्रमको आधारमा के हुन्छ ? यो प्रश्न पनि यहाँ सोधिएको छ ।

मैले यो प्रश्नलाई अगाडि सारेर भन्न खोजेको कुरा के भने हामी सामन्तवादलाई उन्मूलन गर्न चाहन्छौं, सामन्ती भूस्वामित्वलाई समाप्त पार्न चाहन्छौं र जोत्ने किसानलाई जमिनको मालिक बनाउन चाहन्छौं । यसको तात्पर्य के हो भने हामी जमिनदारहरूको जमिन, सामन्तहरूको जमिन खोस्नेछौं । सामन्तहरूको हातबाट जमिन लिएर किसानहरूको हातमा हामी त्यसको स्वामित्व स्थापित गर्नेछौं ।
हाम्रो कार्यक्रम यो हो र भनिरहनु जरूरी छैन कि विभिन्न दुई बिघा, चार बिघा हुनेहरू या यसो भन्ने होस् पाँच बिघा, १० बिघै हुनेहरू पनि, उब्जनी र त्यहाँको स्थिति हेरेर हुनसक्छ, त्यो सबै जमिन कम्युनिष्ट पार्टी आयो भने खोसेर किसानलाई दिइदिन्छ भन्ने खालको कांग्रेस वा अरूले गरेको प्रचारको, दुष्प्रचारको भ्रममा यहाँहरू नपर्नुहोस् ।

हामीले त महासामन्तहरूको जमिन खोसेर किसानहरूलाई दिनुपर्छ भन्ने कार्यक्रम लिएका हौं । हामी यो पनि देखिरहेका छौं कि हाम्रो देशमा विभिन्न खालको संस्कृति र विभिन्न खालको चालचलन मान्ने कुराहरू रहँदै आएको छ र स्वाभाविक रूपले आम रूपमा महिलाहरू हलो जोत्दैनन्, केही ठाउँमा अपवादको रूपमा महिलाहरूले पनि त्यस्तो गरिरहनुभएको छ ।

तर, आम रूपमा त्यस्तो छैन । त्यसबाहेक खासगरिकन क्षेत्री बाहुनमा, त्यो जातिमा झ्न् यो प्रश्नै उठ्दैन । एकछिन कल्पना गर्नुहोस् कि उसको लोग्ने अगाडि नै मरिसके, छोराछोरीहरू सानै छन् र उनको कुनै एक बिघा खेत छ, त्यो कसले जोत्दो हो ? निश्चय पनि अर्को कसैलाई राखेर, या त हली, गोठाला राखेर उनले जोताइरहेको हुनुपर्छ ।

अनि त्यो पनि, यदि कम्युनिष्टको शासन आयो भने त्यो पनि खोसिनेछ भन्ने ढंगको व्याख्या यहाँहरूको बीचमा आउँदैछ कि कांग्रेसको तर्फबाट कम्युनिष्टहरूलाई मूढाग्रही, त्यसखालको एउटा मूर्खतापूर्ण किसिमका अजीव प्राणी हुन् भन्ने र चित्रित गर्ने कांग्रेस र अरू अरूको तर्फबाट कोशिश भइरहेको छ । यहाँहरूलाई साक्षी राखेर यो चाबहिलमा, अनि योमार्फत यो उपत्यकामै यो भन्न चाहन्छु कि हामी सामन्ती भूस्वामित्वलाई अन्त्य गर्न चाहन्छौं, महासामन्तीहरूको सामन्ती सान सौकतलाई समाप्त पार्न चाहन्छौं ।

हामीले कृषिको क्षेत्रमा गर्न खोजेको मूल परिवर्तन यो हो । नेपाली कांग्रेसले जोत्ने किसानलाई जमिनको मालिक बनाउनुपर्छ भन्ने कुरा उल्लेख गरेको छ । कुनै कुरा उल्लेख गर्ने्बित्तिकै हुन्छ कि त्यसको निम्ति व्यावहारिक आचरण पनि चाहिन्छ ?

पञ्चायतलाई दुनियाँमा कहीं नभएको प्रजातन्त्र भनी मरिचमानले भन्दै हिंड्यो, दुनियाँका तानाशाहहरूले पनि आफूलाई जोगाउनको निम्ति प्रजातन्त्रको कुरा गर्नुपर्ने बेला भएको छ र यो ९३ प्रतिशत किसान भएको मुलुकमा किसानहरूको हितको कुरा नगर्ने हो भने कांग्रेसको पनि कुनै त्यस्तो दाल नगल्ने भएको हुनाले उसले फेरि किसानलाई अल्मल्याउनको निम्ति यो कुरा राखेको हो ।
मैले त केवल प्रमाण दिन खोजेको हो, कर्णालीपारि जानुहोस्, सुदूरपश्चिममा जानुहोस् कमैया प्रथा त्यहाँ जीवित छ र नेपाली कांग्रेसका नेताहरू जसले एकातिर गाईका गोठ र अर्का्तिर कमैयाहरूको गोठ पालेका छन् । ती महासामन्तहरूले त्यस ढंगले कमैयाहरूको शोषण–उत्पीडन गरिरहेका छन् र कमैया प्रथालाई जीवित राखेका छन् ।

कांग्रेसले के भन्छ, कमैया प्रथाको बारेमा ? अनि कांग्रेसी नेताहरू के गर्दैछन्, कमैया प्रथाको बारेमा ? त्यति मात्रै होइन, त्यहाँका छोटे महाराजहरू, बाईसे–चौबीसे राज्यका ती छोटे राजाहरू अहिले पनि त्यहाँ राजा भएर बसेका छन् । मैले एउटा गाउँमा साधारण किसान महिलालाई सोधें कि, यो देश, यहाँको राजा को हो ? ती महिलाले त्यहींको एउटा छोटे राजाको नाम लिएकी थिइन् ।

त्यसो हुनाले त्यहाँ राजा–महाराजा भएर अहिले पनि बसिरहेका छन् । बझङ र मुस्ताङको त कुरै छोडिदिनुस्, त्यहाँ रजौटा प्रथा अहिले पनि छँदैछ । त्यहाँ जनताले यति लामो जिब्रो काढेर ‘म पशु हुँ’ भन्दै देखाउँदै त्यो राजालाई टाढैबाट साष्टाङ्ग दण्डवत गर्नुपर्छ । यसखालका मान्छेहरू आज कांग्रेसभित्र आएका छन् ।

चारतारे झ्ण्डाको छायाँमुनि तिनीहरू सुरक्षित बसेका छन् । अब, त्यो गरेर नेपाली कांग्रेसले सामन्तवादको कसरी उन्मूलन गर्ने होला ? या कस्तो उन्मूलन गर्न खोजेको होला ? त्यसो हुँदा कुराको आधारमा हैन, कामको आधारमा मूल्यांकन हुनुपर्दछ । गफको आधारमा होइन, कामको आधारमा मूल्यांकन हुनुपर्छ ।

हामीले सामन्तवादलाई उन्मूलन गर्ने, सामन्तवादलाई समाप्त पार्ने र कृषि क्रान्ति गर्ने कार्यक्रम लिएका छौं । हाम्रो नौलो जनवादको तात्पर्य एउटा यो हो र अहिले नेपाली कांग्रेसले नौलो जनवाद भनेर कम्युनिष्टहरूले अझै पनि एउटा सञ्जीवनी जस्तै प्रयोग गरिरहेका छन् भनेर धेरै ठाउँमा उसले होच्याउने खालको कुरा गरिराखेको छ ।

वास्तवमा सामन्तवादको विरोध नगर्ने हो भने, सामन्तवादलाई उन्मूलन नगर्ने हो भने नेपाली कांग्रेसले आफ्नो चेहरामा लगाएको प्रजातन्त्रको घुम्टो खोलेर फालिदिनुपर्छ र उसले भन्नुप¥यो, म त सामन्तवादलाई जोगाउन चाहन्छु, राजा–महाराजाहरूको शोषण, उत्पीडनहरूलाई जोगाउन चाहन्छु, किसानहरूमाथिको थिचोमिचो र दमनलाई कायम राख्छु भनेर नेपाली कांग्रेसले सामन्तीहरूको स्वार्थ रक्षा गर्दै खुल्ला रूपमा आउनुप¥यो, धोकाधडी गर्न बन्द गर्नुर्पयो र जनतालाई अब आजभन्दा ३२ वर्ष अगाडि जस्तो अचेतन, २०१५ सालमा जस्तो अचेतन रूपमा छन् भनेर नेपाली कांग्रेसले स्वाङ गरिरहेको छ भने त्यो स्वाङको जवाफ २०४८ सालको वैशाख २९ गते नेपाली कांग्रेसले पाउनेछ ।

त्यसैगरी साम्राज्यवादलाई, त्यसको शोषण उत्पीडनलाई समाप्त गर्नु हाम्रो नौलो जनवादी कार्यक्रमको अर्को एउटा महत्वपूर्ण तत्व हो र हामीले सामन्तवादलाई उन्मूलन गर्ने, साम्राज्यवादको शोषण, उत्पीडनलाई समाप्त पार्ने कुरालाई आफ्नो यो चुनावी मुद्दाको पनि महत्वपूर्ण विषय बनाएका छौं र त्यसलाई हामीले नौलो जनवाद भनेका छौं ।
अहिले राजनीतिक क्षेत्रमा जुन प्रजातन्त्र आएको छ, तर आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्रजातन्त्र आइसकेको छैन । त्यसो भएको हुनाले राजनीतिक क्षेत्रमा आएको प्रजातन्त्रलाई सुदृढ र विकसित गर्दै अरू क्षेत्रमा पनि प्रजातान्त्रिक परिवर्तन ल्याउनुपर्छ भन्ने कुरालाई हामीले महत्व दिएका छौं ।

आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमासहित राजनीतिक क्षेत्रमा आएको प्रजातान्त्रिक परिवर्तन नै नौलो जनवाद हो । यही ढंगले जनवादले राज्य र जनताको भाग्य र भविष्यलाई ठीक ढंगले संरक्षण गर्ने र अगाडि बढाउने कुरा गर्न सक्छ ।
त्यसो हुँदा यो कम्युनिष्टको मात्रै सर्वहारा, श्रमजीवी जनताको मात्रै कार्यक्रम होइन, सबै देशभक्त, प्रजातान्त्रिक नागरिकहरूको कार्यक्रम हो भन्ने हामी ठान्छौं ।

अब यसै प्रसंगमा जब दुनियाँबाट कम्युनिष्ट लोप भइरहेका छन् भन्ने अहिले प्रचार भइरहेको छ, म एउटा कुरा भनौं कि दुनियाँमा जतिसुकै ठाउँमा अहिले कम्युनिष्टहरू आफ्नो शासन सत्ताबाट हटेका हुन् र कहीं कोही पुगेका हुन्, यसले माक्र्सवाद लेनिनवादको सत्यतालाई, माक्र्सवाद लेनिनवादको शाश्वततालाई कुनै फरक पार्नेवाला छैन ।

अर्थात् माक्र्सवादको मूलभूत वस्तु के हो भने शोषण र उत्पीडनलाई समाप्त पार्नु, श्रमजीवी, मिहिनेती, उत्पीडित जनताको राज्य स्थापना गर्नु । यो माक्र्सवादको मूलभूत तत्व हो । के अब दुनियाँमा शोषित, उत्पीडित, मिहिनेती, सर्वहारा, श्रमजीवी जनताको राज्यव्यवस्था स्थापना गर्ने आवश्यकता समाप्त भइसक्यो ? अब के पूँजीपतिहरूले मात्रै राज्यव्यवस्था चलाउने ? सामन्तहरूले मात्रै चलाउने हो त ? अरू उत्पीडित जनसमुदायहरूले आ–आफ्नो हकहितलाई संरक्षण गरेर राज्यव्यवस्था स्थापना नगर्ने हो र ?

आज कम्युनिष्ट आन्दोलनमा आएका केही समस्याहरूलाई अगाडि सार्दै पूँजीवादी तत्वहरू खासगरिकन त्यसको नाइके जर्ज बुशले यो कुरालाई प्रचारित गर्नको निम्ति काफी कोशिश गरिरहेको छ र त्यसको सिको गर्दै, त्यसबाट शिक्षा लिंदै यहाँ पनि नेपाली कांग्रेसका नेताहरू त्यो कुरालाई प्रचार गरिरहेका छन्– अब कम्युनिष्ट भनेका त दुई दिनका पाहुना हुन्, धेरै दिनसम्म यिनीहरू रहनेवाला छैनन् ।
अस्ति वीरेन्द्रभक्तजीले एउटा पत्रिकामा लेख्नुभएको थियो– नेपालमा कम्युनिष्टहरूको बीउ जोगाउनुपर्छ, पछि यिनीहरूलाई संग्रहालयमा राख्नुपर्छ र कम्युनिष्ट हेर्नको निम्ति दुनियाँबाट नेपालमा ओइरो लाग्नेछ, पर्यटन व्यवसाय विकसित हुनेछ ।

एउटा कुरा आदरणीय जनसमुदायहरू ! जब दोस्रो विश्वयुद्धपछि दुनियाँमा कम्युनिष्टहरू र कम्युनिष्ट आन्दोलनले तीव्र गतिमा विकास ग¥यो त्यसबेला यो कम्युनिष्ट आन्दोलनको बढ्दो विकासलाई रोकथाम गर्नको निम्ति पूँजीवादी तत्वहरूले, पूँजीवादपन्थी तत्वहरूले ‘प्रजातान्त्रिक समाजवाद’ भन्ने एउटा कोरा काल्पनिक शब्दको सिर्जना गरेका थिए ।

अनि त्यही कोरा काल्पनिक शब्दको पछाडि, त्यसलाई आदर्श बनाएर अहिले पनि नेपाली कांग्रेसले आफ्नो घोषणापत्र र विभिन्न ठाउँका भाषणहरूमा राखिरहेको छ, ऊ प्रजातान्त्रिक समाजवादको पक्षपाती रे ! के हो त्यो प्रजातान्त्रिक समाजवाद भनेको ? त्यसले कस्तो खालको उत्पादन–सम्बन्ध कायम गर्छ ? त्यसले उत्पादक शक्तिहरूको कुन ढंगले हकहित सम्पादन गर्छ ? प्रजातान्त्रिक समाजवाद भनेको के हो ?
यहाँको मात्रै, यो कांग्रेसीहरूको मात्रै एकाधिकारको कुरा होइन । यो नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमानजीको मुखारविन्दबाट निस्केको कुरा, अनमोल वाक्य होइन यो । यो त दुनियाँका सबै पूँजीवादपन्थीहरूले सोची, विचारी निकालेको प्रजातान्त्रिक समाजवाद भन्ने एउटा खोक्रो शब्दावली हो । जुन खोक्रो शब्दावलीको एक सयभन्दा बढ्ता व्याख्या छ ।

दुनियाँका अनेक सयभन्दा बढ्ता मुलुकमा छरिएर रहेका पूँजीवादपन्थीहरू जसले आफूलाई सोझै पूँजीवादी हुँ भनेर भन्नाको निम्ति डर मानिरहेका छन् । ती तत्वहरूले आफूलाई प्रजातान्त्रिक समाजवादको एउटा खोक्रो खोलबाट लुकाउनको निम्ति र जनतालाई ढाँट–छल गर्नको निम्ति गरेका छन् । यही खालको तिनीहरूको प्रजातान्त्रिक समाजवाद हो, कुनै एकीकृत व्याख्या छैन । सय वटा नेताले सय खालको मनपरी व्याख्या गरेका छन् ।

अस्ति यहाँहरूले पनि देख्नुभयो कि नेपाली कांग्रेसले आफ्नो घोषणापत्र र लक्ष्यमा रहेको प्रजातान्त्रिक समाजवाद अब हटाउनुपर्छ । धेरै प्रस्ताव पनि आए, तर अहिले हटाइहालेको छैन । किन नहटाएको ? मेरो विचारमा उसले किन नहटाएको हो भने दुनियाँबाट कम्युनिष्ट समाप्त हुँदैछन् भन्ने उसलाई ठूलै सन्तोष भए पनि नेपालमा भने कम्युनिष्ट बढिरहेका छन् भन्ने देखिरहेको छ ।

त यो कम्युनिष्ट बढिरहेको हुनाले, कम्युनिष्टप्रति बढ्दै गएको जनताको यो लहरलाई कसरी रोक्ने हो र हामीतर्फ कसरी तान्ने हो भन्ने कुरा गर्नको निम्ति उसले त्यो प्रजातान्त्रिक समाजवाद भन्ने खोक्रो खोस्टोलाई अहिले पनि आफ्नो घोषणापत्रमा झ्ुण्ड्याइराखेको छ । त्यो भन्दा अरू कुनै कारण छैन र अब मैले वीरेन्द्रभक्तजीलाई कुनै जवाफ दिनु छैन ।

मैले त्यस्ता कुरा पनि गर्नु छैन । बरु मैले त अघि नै अनुरोध गरें कि प्रजातान्त्रिक संस्कार तपाईंहरूले आफूभित्र विकास गर्न सक्नुभएन भने मलाई दुःख लाग्नेछ, हाम्रै दाजुभाइ, एकखालका दाजुभाइ र बन्धुबान्धवलाई हामीले छिमेकी मुलुकतिर भेट्न जाने स्थिति पनि आउन सक्छ । तर, जेहोस् कम्युनिष्टहरू, पूर्वी युरोपमा कम्युनिष्टहरूले ठीक गरे कि बेठीक गरे भन्ने कुराको आधारमा नेपालमा कम्युनिष्टहरू बढेका होइनन् ।
नेपालका कम्युनिष्टहरू नेपालमा आज कुन खालको व्यवस्था ल्याउनु छ र कुन खालको राजनीतिक प्रणालीलाई स्थापित गर्नुछ भन्ने आफ्नो विश्वासलाई अघि सारेर, जनताको विश्वासको श्रेय पाएर टिकेका छन् ।

अब यहाँहरूले नै फैसला गर्नुहोस्, सामन्तवादलाई उखेलेर फाल्ने हो कि होइन ? यदि सामन्तवादलाई उखेलेर फाल्ने हो भने आदरणीय जनसमुदायहरू, हाम्रो त कार्यक्रम नै त्यही छ र हामीचाहिं कम्युनिष्ट हौं ।
साम्राज्यवादको थिचोमिचोलाई समाप्त पार्ने हो कि होइन, हाम्रो मुलुकबाट ? यदि समाप्त पार्ने हो भन्ने कुराको पक्षमा यहाँहरू हुनुहुन्छ भने, हाम्रो त कार्यक्रम त्यही छ आदरणीय जनसमुदायहरू ! त हाम्रो भेद के भयो ?

अब नेपाली कांग्रेसको कुरा गर्नुहुन्छ भने, अस्ति कृष्णप्रसाद भट्टराईजीले भारत गएर साझ नदी भन्ने अवधारणा पारित गरेर अथवा त्यो ढंगको अवधारणा लिएर, त्यो ढंगको वचन दिएर आउनुभयो । अहिले पनि कृष्णप्रसादजीलाई थाहा छैन कि, साझ नदीको व्याख्या के हो ?
कृष्णप्रसाद भट्टराईजी ! यो मुलुकका अन्तरिम सरकारका अहिलेका प्रिय प्रधानमन्त्रीजी ! उहाँलाई मेरो प्रश्न छ कि साझ नदी हो भने इण्डियाको गंगा र अरू तमाम नदी पनि साझ हुन् त ? चन्द्रशेखर र विश्वनाथप्रताप सिंहले त्यस्तो शब्द दिएका छन् ? होइन इण्डियाका नदीहरू मात्रै साझा हुन्छन् भने क–कसको बीचमा साझा त ? इण्डिया र नेपालको बीचमा ?

यस ढंगले राष्ट्रिय सम्पदालाई प्राकृतिक स्रोत र सम्पदालाई नेपालको नेपाली जनताको अक्षुण्ण अधिकार रहने स्रोत र सम्पदालाई भारतको साझा बनाउने कुरामा तपाईं आफ्नो वचन दिएर आउनुहुन्छ भने तपाईंको राष्ट्रिय स्वतन्त्रताको, तपाईंको मुलुकलाई हित गर्ने, राष्ट्रिय हित गर्ने कुराको नीति के हो ? त्यसलाई सुस्पष्ट रूपमा लिएर आउनुप¥यो ।

र, तपाईंले साम्राज्यवादी, एकाधिकारवादी पूँजीवादको विरोध गर्नुहुन्छ भने, राष्ट्रिय हितको संरक्षण गर्नुहुन्छ भने त्यसलाई सुस्पष्ट रूपमा लिएर आउनुप¥यो । त्यसो हुनाले आज जसरी कम्युनिष्टहरू प्रचारित हुँदैछन्, कम्युनिष्टहरू लोकप्रिय हुँदैछन् भन्ने कुरा एकातिर देखिएको छ भने त्यो अन्तर्रा्ष्ट्रिय कम्युनिष्ट आन्दोलनमा आएको ह्रास वा विकासको परिणाम होइन । नेपालकै कम्युनिष्टहरूले लिएको नीतिको परिणाम हो भन्ने कुरा मैले यहाँहरूलाई राख्न चाहेको हो ।

यसबाहेक मैले के भन्नु छ भने, आजसम्मको यो ५०० वर्षको पूँजीवादी आन्दोलनको इतिहासमा पूँजीपति तत्वहरूले दर्जनौं पटक मैदानमा नाक रगड्नु परेको छ, धूलो चाट्नु परेको छ, चौरको दूबो दाँतले टिप्नुपरेको छ, पूँजीवादीहरूका नंग्रा र दाह्राहरू भत्किएका छन् र त्यो अनेकौंचोटि, दर्जनौंचोटि त्यस ढंगले मार खाने ती पूँजीवादी तत्वहरू अरू कसैबाट मार खाएका होइनन्, यही रातो झ्ण्डाको मुन्तिर संगठित रहेका, माक्र्सवाद लेनिनवादको मार्गदर्शनमा काम गर्ने जनताबाट अर्थात् मजदूर, किसान, सर्वहारा, श्रमजीवी जनताबाट मार खाएका हुन् ।

यसको तात्पर्य, यो भावुक भएर भनेको कुनै त्यस्तो शब्दावली होइन । भियतनाममा अमेरिकाका खुट्टा काटिएनन् र ? लाओसमा, कम्पुचियामा त्यस्तो भएन र ? अघि पनि हाम्रो पद्मरत्नजीले अलिकति चर्चा गर्नुभयो– फिलिपिन्समा पनि अमेरिकीहरूले थप्पड खाइरहेका छन् । यसो भएको हुनाले दुनियाँमा आफ्नो एकाधिकार जमाउन चाहने साम्राज्यवादीहरू, पूँजीवादपन्थी तत्वहरूले अनेकचोटि धूलो चाट्नुपरेको छ र आज, यसबेला कम्युनिष्ट आन्दोलनमा, विश्व कम्युनिष्ट आन्दोलनमा केही समस्याहरू उत्पन्न भए भन्ने कुरालाई लिएर जत्रो हरकमबाजी यी पूँजीवादी तत्वहरूले मच्चाइरहेका छन्, यसले अलिकति पनि हामीलाई विचलित बनाएको छैन । जबसम्म दुनियाँमा ठूलो राष्ट्रले सानो राष्ट्रलाई उत्पीडन गर्ने सम्भावना रहिरहन्छ ।

जबसम्म मानव समाजमा माथिल्लो वर्गले तल्लो वर्गलाई शोषक वर्गले शोषित वर्गलाई थिचोमिचो गर्ने कुरा गरिरहन्छ, तबसम्म माक्र्सवाद–लेनिनवाद अप्रासंगिक हुनेवाला छैन, माक्र्सवाद लेनिनवाद परास्त हुनेवाला छैन, कम्युनिष्ट पार्टी समाप्त हुनेवाला छैन । हामीलाई व्यालेट बोक्नका निम्ति, रचनात्मक ढंगले आउनको निम्ति अवसर प्रदान गरिन्छ भने व्यालेट लिएर, त्यस्तो होइन, हामीलाई बुलेट बोक्नको निम्ति बाध्य पारिन्छ भने बुलेट बोकेर भए पनि हर कसैसँग प्रतिद्वन्द्विता गर्न हामी तयार छौं ।

कम्युनिष्ट आन्दोलनको सन्दर्भमा म आफ्नो पार्टीको तर्फबाट यही विश्वास र वचनबद्धता यहाँहरूलाई व्यक्त गर्न चाहन्छु । अब म अलिकति निर्वाचनसम्बन्धी केही थप कुराहरूको बारेमा जाऊँ ।
निर्वाचन आइसक्यो र यो निर्वाचन गिरिजाबाबुले भनेजस्तै एउटा ठूलो महाभारत हो । तर प्रिय गिरिजाजी ! यो महाभारतमा त्यस्तो ब्राह्मास्त्र, पाशुपतास्त्र, इन्द्रास्त्र र अरू अनेकौं आदित्यादि त्यस्ता अस्त्रास्त्रहरू प्रयोग नगरियोस् । यसमा त विश्वासको, आस्थाको, रचनाको, कार्यक्रम र नीतिहरूको अस्त्र प्रयोग गरियोस् । सर्वप्रथम हाम्रो आह्वान यो हो ।

यसको निम्ति हाम्रो पार्टीका सहयोगी, शुभेच्छुक कार्यकर्ता, नेता कमरेडहरूलाई म के आह्वान गर्छु भने कमरेड हो ! यो लडाईं अब हरेक व्यक्तिसँग लड्नु छ, एक–एक व्यक्तिको बीचमा पुग्नु छ, झ्ुपडीहरूमा पुग्नु छ, अर्थात् हिजोको लडाइँ शहर र जुन खास–खास ठाउँहरूमा भएको थियो, आजको यो लडाइँ प्रत्येक गाउँ कुनाहरूमा, प्रत्येक घरहरूमा र प्रत्येक अठार वर्ष पुगेको, अठार होइन, त्योभन्दा अझ थोरै दश–बाह्र वर्ष पुगेको कुनै किशोरमा, भाइबहिनीहरूमा पनि पुग्नुपर्छ ।

अर्थात् दिमागमा, साँचो प्रजातन्त्र कसरी आउँछ ? साँचो प्रजातन्त्र भनेको के हो ? भन्ने कुरा स्थापित गर्नको निम्ति हामीले हर ठाउँमा पुग्नुपर्छ र यदि आफ्नै घरकी बूढी हजुरआमालाई यहाँहरूले सूर्य चिन्हमा, एकीकृत कम्युनिष्ट पार्टी (माले) को पक्षमा मतदान दिनुपर्छ हजुरआमा ! भनेर भन्नु भएन भने त्यही ठाउँमा नेपाली कांग्रेस वा अर्को कुनै पक्षको मान्छे जानेछ ।

हजुरआमा हामी त एउटै गाउँका हौं, तपाईंको छोराछोरी जस्तै हौं, के फरक प¥यो र ? हाम्रो कुरा यस्तो यस्तो छ, ल है हजुरआमा मलाई दिनुहोला भनेर उसले चिल्लो लाएर फर्कन सक्छ र त्यस ढंगले प्रजातान्त्रिक चेतना नउघ्रेको हाम्री हजुरआमाले झुक्किएर रूखमा मतदान गर्न सक्नुहुन्छ अर्थात् अरू कुनै चिन्हमा मतदान गर्न सक्नुहुन्छ ।

त्यसो हुँदाखेरी मतदान गलत ठाउँमा नपुगोस् । त्यसो भयो भने पछि एउटा अप्ठेरो हुनेछ, हामीले ठीक ढंगले काम गरेनौं भने ‘पछार्न त पछार्थें, तर खुट्टै टेक्न दिएन’ भन्ने खालको स्थिति भयो भने, त्यो लाजमर्नु हुन्छ । त्यसो भएको हुनाले यो लडाइँमा त्यो उत्साहको साथ उत्रिनुपर्छ र म यहाँहरूलाई के अनुरोध गर्छु भने अब मौका आयो, मैले संविधानको घोषणा हुनेवित्तिकै, त्यसको लगत्तैपछि खुलामञ्चमा आमरूपमा आह्वान गरेको थिएँ ।

त्यसबेला मैले त्यो एउटा दिशाको संकेत मात्रै गरेको हुँ र अहिलेचाहिं ठोस रूपमा आह्वान हो कि त्यो के भने अब हरेकले आफ्ना पेशा व्यवसायहरूमा, सके त्यसलाई अब २४ घण्टा वा १२ घण्टाभित्र ६ घण्टा वा कति घण्टा मात्रै खोल्ने हो, एउटा कार्य दिवसको टुंगो गर्नुहोस् र त्यसबाहेक कम्तीमा पनि बिहान–बेलुकाको न्यूनतम रूपमा छाक टार्ने उपार्जन भयो भने ढोका बन्द गरेर अब गाउँ निस्कनुहोस् र अब कम्तीमा पनि एक करोड सात लाख नेपालका मतदाताहरू, नेपाली प्रौढहरू, बयस्क मताधिकारीहरू अब सडकमा उत्रनुर्पयो, या प्रजातान्त्रिक लडाइँमा सामेल हुनुर्पयो र त्यति मात्रै होइन, त्योभन्दा तलका भाइबहिनीहरू पनि जसले कुरा बुझ्छन्, जसले काम गर्न सक्छन्, उनीहरूलाई पनि उतार्नुर्पयो र वास्तवमा यो ३२ वर्षपछि हुन लागेको आम निर्वाचनमा अहिले यो राजनीतिक पार्टी ठीक कि त्यो राजनीतिक पार्टी ठीक ?
यसो गर्दा प्रजातन्त्र सुरक्षित हुन्छ कि त्यसो गर्दा प्रजातन्त्र सुरक्षित हुन्छ ?

भन्ने कुराको फैसला गर्ने बेलामा, अब एक करोड सात लाख राजनीतिक सेनाहरू प्रजातन्त्रको निमित्त बाहिर उत्रनु पर्छ । खासगरिकन हाम्रो पार्टीप्रति सहानुभूति राख्ने, शुभेच्छा राख्ने हर कोही नागरिक, हरकोही महिला–पुरुष, हरकोही दाजुभाइ, दिदीबहिनीहरू सब मैदानमा उत्रनुपर्छ र आफ्नो ठोस भूमिका निभाउनुपर्छ ।यस्तो भएको खण्डमा मात्रै यो साँचो अर्थमा महाभारत हुनेछ, साँचो अर्थमा यो राष्ट्रवादको लडाइँको कुरुक्षेत्र हुनेछ । या कुरुक्षेत्र बनाउनको निम्ति हामी तयार छौं ।

अब अलिकति अन्त्यमा केही मलाई उत्तेजित बनाउन भनिएका कुराहरूको पनि जवाफ दिऊँ । कुरा के हो भने पुनर्जागरण भनेको नेपाली कांग्रेसको अघोषित मुखपत्र । त्यसले मदन भण्डारीलाई विभिन्न ढंगले घोचपेच गर्दै मदन भण्डारी कहिले काठमाडौंको १ नं. क्षेत्रमा उठ्ने भन्ने प्रचारित गराउँछ । कहिले मोरङको फलानो ठाउँबाट उठ्ने भन्ने प्रचारित गराउँछ । कहिले उठ्दै नउठ्ने भन्ने प्रचारित गराउँछ ।

यो गरेर उसले आफ्नो एउटा त्यो दोलायमान, एउटा ढुलमुल भइरहेको मनस्थितिलाई जाहेर गरेको छ । र यदि मदन भण्डारीको क्षमता छ भने १ नं. मा उठोस् र एउटा ऐतिहासिक रेकर्ड कायम गरोस् कि कृष्णप्रसाद भट्टराईसँग टक्कर गरेर जमानत जफत भएको आफ्नो स्थितिको सामना गरोस् भनेर उसले भनेको छ ।

अब यसमा मेरो भन्नु के छ भने, मदन भण्डारी कृष्णप्रसादसँग मात्र होइन, आफूलाई निकै लोकप्रिय र विष्णुको अवतार हो भन्ने ठान्ने राजा वीरेन्द्र पनि अहिलेलाई श्रीपेच खोलेर कुनै समरमा आउँछन् र मदन भण्डारीसँग प्रतिस्पर्धा गर्न चाहन्छन् भने मदन भण्डारी राजासँग पनि प्रतिस्पर्धा गर्न तयार छ ।

मलाई कुनै फिक्री छैन कि यदि भोलि मदन भण्डारीले काठमाडौंको यही १ नं. चुनाव क्षेत्रबाट उठ्नुपर्छ भनेर पार्टीले फैसला ग¥यो भने म यहाँहरूसँग फेरि पनि यसरी नै आउनेछु र यहाँहरूका इच्छा, आकांक्षा र भावनाहरूको प्रतिनिधित्व गर्न सक्छु र गर्नेछु भन्ने विचार, विश्वास र वचनवद्धता व्यक्त गर्दछु म यहाँहरूको बीचमा आउनेछु र मलाई त्यस्तै ठूलो, त्यो पुनर्जागरण ले प्रचार गरेकै जस्तो उट्पट्याङ भाषा बोल्नु छैन ।
तर पनि मलाई मनमा अलिकति खेद नै हुनेछ कि मैले कृष्णप्रसाद भट्टराईजीको जमानत जफत गरिदिनुपरोस् । यसकारणले कि व्यक्तिगत रूपमा कृष्णप्रसाद भट्टराईजी देशको कुनै न कुनै क्षेत्रबाट संसद्मा आउनुहोस्, मेरो शुभकामना छ । तर, जब १ नम्बर चुनाव क्षेत्रमा मदन भण्डारी आउने भन्ने कुरा विभिन्न ढंगले चर्चा भइसकेपछि वा त्यस ढंगले टुंगो भइसकेपछि अब त्यही ठाउँमा आउनुहुन्छ भने मदन भण्डारी कृष्णप्रसाद भट्टराईसँग प्रतिद्वन्द्विता गर्नको निम्ति कुनै हिच्किचाहट मान्नेवाला छैन ।

यसकारण हिच्किचाहट मान्ने छैन कि म सामन्तवादको उन्मूलन चाहन्छु, दरबारियाहरूले उपभोग गरिरहेको विशेषाधिकारलाई अन्त्य गर्न चाहन्छु र राजाले पनि यदि बढ्ता चुरीफुरी गर्छन् भने, राजाले पनि यदि जनताका अधिकारहरूमाथि फेरि पनि गिद्धेदृष्टि लगाउँछन् भने, यही संविधान अन्तर्गत राजालाई चार लाख भत्ता दिने जुन कुरा भएको छ, त्यसबाट खसालेर पन्ध्र हजारभन्दा बढ्ता दिंदै नदिने तहमा झार्नको निम्ति अनि सार्वभौमसत्ताको प्रयोग गर्ने सन्दर्भमा संविधानमा जुन गोलमटोल भाषा प्रयोग गरिएको छ कि ‘सार्वभौमसत्ताको प्रयोग जनताबाट निर्वा्चित भएको संसद्ले गर्नेछ’ भन्ने कुरा राख्नुको साटो ‘संविधानबमोजिम प्रयोग हुने छ’ भनेर जसरी गोलमटोल भाषा राखिएको छ, त्यसलाई हटाएर ‘जनताका निर्वा्चित प्रतिनिधिहरूले गर्नेछन्’ भन्ने कुराको संशोधन गर्नको निम्ति अर्थात् त्यहाँ भएको राजाको हातलाई हटाइदिनको निम्ति र राजाले त्यसरी नै चुरीफुरी गर्छन् भने ल ठीक छ, एउटा कुरा पत्रकार बन्धुहरूले नोट गरे हुन्छ कि ‘राजा रहने छैनन्’ भन्ने कुरा त यो संविधानसमा संशोधन गर्न पाइँदैन रे, तर अब यो मुलुकमा राजा राख्दाखेरी ‘चाबहिलबाट कुदेर जो चाँडो कीर्तिपुर पुग्छ, त्यही राजा हुन्छ’ भनेर पनि त राख्न सकिन्छ नि ! त्यसो हुँदा राजा वीरेन्द्र र राजा वीरेन्द्रका छोरा दीपेन्द्र, उनै राजा हुने हो भने उनले अब वैकुण्ठ मानन्धरलाई जित्नको निम्ति कोशिश गरुन् ।

मैले भन्न खोजेको कुरा के हो भने यस खालका मुद्दाहरूलाई हामी चुनावका मुख्य मुद्दा बनाउँछौं, भट्टराईजी तपाईंको के सोचाइ छ ? हामी महासामन्तहरूलाई, त्यसखालका जमिनदार, बदमासहरूलाई, तिनीहरूको शोषण, उत्पीडनलाई समाप्त पार्न चाहन्छांै । यहाँको कार्यक्रम के छ ? हामी साम्राज्यवादको थिचोमिचोलाई अन्त्य गर्न चाहन्छौं ।

भट्टराईजी तपाईं के भन्नुहुन्छ ? साझ नदीको अवधारणलाई हामी उल्ट्याउन चाहन्छौं । भट्टराईजी तपाईंको भनाइ के छ ? हामी भनिरहेका छौं, प्रजातन्त्रीकरणको मुद्दा भनेको प्रशासनिक क्षेत्रमा प्रजातन्त्रीकरण गर्ने कुरा हो, सञ्चार र अरू तमाम क्षेत्रमा निष्पक्षता र स्वतन्त्रता स्थापित गर्ने कुरा हो । अन्तरिम सरकारका प्रिय प्रधानमन्त्रीजी तपाईंको भनाइ के छ ? यी कुरालाई दिमागमा राखेर मदन भण्डारीसँग प्रतिस्पर्धा गर्न आउनुहोस् ।

मैले यो भन्नु छैन कि मदन भण्डारीले जित्नको निम्ति, कुनै महासामन्तको गुलामी गर्नको निम्ति हात मोलेर जानेवाला छैन । मदन भण्डारीले भोट पाउला भन्नको निम्ति कुनै भ्रष्ट नोकरशाह र बदमाससँग उसले नम्र भएर शिर झुकाउनेवाला छैन । यदि यो १ नम्बर क्षेत्रमा साम्राज्यवादको शोषण, उत्पीडनलाई समाप्त पार्न चाहने, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधीनताको निम्ति आफूलाई समर्पित गरेर लाग्न चाहने त्यस्ता आदरणीय जनसमुदायहरू हुनुहुँदोरहेछ भने म उहाँहरूको भावनाको प्रतिनिधित्व गरेर विजय प्राप्त गर्न सक्छु ।

सामन्तवादलाई उन्मूलन गर्न चाहने त्यस्ता नागरिकहरूको यहाँ बहुमत रहेछ भने म त्यो बहुमतको विश्वास प्राप्त गरेर विजय प्राप्त गर्न चाहन्छु, अथवा अरू कुनै षडयन्त्र गरेर होइन । यद्यपि यो पार्टीले फैसला गर्न बाँकी छ, मैले अहिले नै भनिहाल्नु छैन, मदन भण्डारी यहाँ आयो वा आइहाल्यो भन्नु छैन । आउन पनि सक्छ, नआउन पनि सक्छ । तर, यो सूर्य त आयो आयो । यो एकीकृत पार्टी त आयो आयो । यसलाई तीन वटा राजाले कोशिश गरेर त धपाउन सकेनन्, अब नेतात्रय जसले आफूलाई ब्रह्मा, विष्णु र महेश्वर ठानेका होलान्, तिनीहरूले पनि यसलाई कसै गरी हल्लाउन सक्नेवाला छैनन् ।

यसो हुनाले मलाई लाग्छ, शायद कुनै फरक पर्नेवाला छैन । चाहे यो सूर्य चिन्ह बोकेर यहाँहरूको घरदैलोमा म नै उम्मेदवार भएँ भनेर मदन भण्डारी आओस् या यो सूर्य चिन्ह बोकेर अर्को कोही हाम्रो पार्टीको उम्मेदवार आओ, त्यसले केही फरक पार्नेवाला छैन ।

त्यसो हुँदा इन्साफमा आधारित भएर यो ठाउँमा अर्थात् यो मुलुकमा हामी निर्वाचनमा आइरहेका छौं । तर १ नम्बरकै सवालमा, अहिले हामी यो १ नम्बरमै उपस्थित भइरहेको बेला, ठीक आज मदन भण्डारीलाई उत्तेजित पार्नको निम्ति, उराल्नको निम्ति हो कि अथवा उसलाई केही लगाउनको निम्ति र धम्की दिनको निम्ति हो, त्यस ढंगले जुन नेपाली कांग्रेसका छापाहरूले दिइरहेका छन्, मदन भण्डारी गल्नेवाला पनि छैन, मदन भण्डारी उरालिनेवाला पनि छैन र अघि नै मैले भनें कि यो पार्टी शायद आवश्यकता र्पयो भने बन्दूक बोकेर, त्यस्तो परेन भने व्यालेट बोकेर रचनात्मक ढंगले, दुवै किसिमले आउनको निम्ति तयार छ र हामी मैदानमा उत्रिसक्यौं ।

अब यो फैसला दुई महीनाभित्रै हुनेवाला छ । यसको निम्ति यहाँहरूको सक्रिय सहभागिता, सक्रिय योगदानको म आशा र अनुरोध गर्दछु ।
मैले यहाँहरूको धेरै समय लिएँ । यहाँहरूले धैर्यपूर्वक विचारहरू सुनिदिनुभयो । यसप्रति कृतज्ञतापूर्वक हार्दिक अभिवादन र धन्यवाद ।


Ruslan

paicho

bussewa

राजनीति

जनतासँग गरिएका वाचा पूरा गर्नेछ : नेता नेम्वाङ

२७ मंसिर, इलाम । नेकपा एमालेका नेता एंव इलाम क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले वाम गठबन्धनले जनतासँग गरिएका वाचा पूरा गर्ने बताएका छन् । मतदातालाई धन्यवाद ज्ञापन गर्न आज इलामको फाकफोकथुम गाउँपालिकास्थित कोल्बोटेमा आयोजित कार्यक्रममा उनले भने, “हामी जनतासँग निर्वाचनपूर्व गरिएका वाचा पूरा गर्छौं, जनतालाई आश्वासन होइन, विकास दिन्छौँ ।” 

​वाम गठबन्धन सरकारले आर्थिक क्रान्तितर्फ लैजान्छ : नेता श्रेष्ठ

२७ मंसिर, काठमाडौ । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धन नेतृत्वको सरकारले जनताको चाहना सम्बोधन गरी मुलुकलाई अब आर्थिक क्रान्तितर्फ लैजाने बताएका छन् । काठमाडौ निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि दहचोक तथा त्यस आसपास क्षेत्रका स्थानीयसँगको भेटघाट (घरदैलो) कार्यक्रमपछि आज आयोजित सभामा

​नेतृत्वको राजीनामा समस्याको समाधान होइन : महामन्त्री कोइराला

२७ मंसिर, चितवन । नेपाली काँग्रेसका महामन्त्री प्रा डा शशांक कोइरालाले काँग्रेस नेतृत्वको राजीनामा समस्याको समाधान नभएको बताएका छन् । गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान विशेष कुराकानी गर्दै उनले अहिलेको अवस्थामा हामी खण्डित होइन एकीकृत हुनुपर्ने बताए ।केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै उनले

अन्तर्राष्ट्रिय

न्यूयोर्कमा विस्फोट गराउन खोज्ने बंगलादेशी युवाले दिए ट्रम्पलाई यस्तो चेतावनी

२७ मंसिर । अमेरिकाको न्यूयोर्कस्थित बस टर्मिनलमा बम विस्फोट गराउने बंगलादेशी युवकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चेतावनी दिएको खुलासा भएको छ । बम विस्फोट गराउनुपूर्व बंगलादेशी २७ बर्षीय युवक अकायद उल्लाहले फेसबुकमा राष्ट्रपति ट्रम्पलाई चेतावनी दिएको खुलेको हो ।

​भेनेजुयलामा विपक्षी पार्टीहरुलाई राष्ट्रपति निर्वाचनमा भाग लिन प्रतिबन्ध

२५ मंसिर, काठमाडौं ।  भेनेजुयलाका मूख्य विपक्षी पार्टीहरुलाई अर्को वर्षको राष्ट्रपति निर्वाचनमा भाग लिनबाट प्रतिबन्ध लगाइको छ । राष्ट्रपति निकोलस मडुरोले मेयरको निर्वाचनमा भाग लिएका पार्टीले मात्र राष्ट्रपति निर्वाचनमा भाग लिन पाउने बताएका हुन् । उक्त निर्वाचनमा जस्टिस फस्र्ट, पपुलर विल, डेमोक्रेटिक एक्सन पार्टीका नेताहरुले निर्वाचन प्रणाली नै पक्षपात पूर्ण 

​बेलायतमा भारी हिमपात, यातायात सेवा अवरुद्ध

२५ मंसिर, काठमाडौं ।  बेलायतमा भारी हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण बेलायतका अधिकांश विद्यालय र क्याम्पस बन्द भएका छन् । लण्डनको वेल्समा ३० सेन्टिमिटरसम्म हिउँ जम्दा यातायात सेवा अवरुद्ध बनेको छ । अधिकांश सडकमा हिउँ जमेकाले सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् ।

विचार / ब्लग

यसकारण खेर जान्छ विकाउ नारा दिएर भोट माग्ने साना दललाई दिएको भोट

नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान विजुक्छे सधै  सांसद बने तर कहिल्यै सरकारमा गएनन् । उनको दलले सधैं सरकारका खराब काममा खबरदारी गरी रह्यो । संसदमा सधैं निष्ठाको राजनीति गर्ने अर्का पात्र चित्र बहादुर के.सी. पनि जनताले भरोसा गर्न लायक नेता हुन् । एकपटक उपप्रधानमन्त्री भएका यी नेताले देशलाई बेथितिबाट मुक्त गर्न नखोजेका कहाँ हुन र ? स्वच्छ छविका, केही गरौं भन्ने भावना भएका एकदुई सिटे दलले संसदमा

कर्मकाण्डी चुनावी घोषणा पत्रमा भरिएका झुटा आश्वासन

नोपलमा आम मतदातामध्ये कतिले राजनीतिक दलका  चुनावी घोषणा पत्रलाई  आधार मानेर दल वा उमेद्वारलाई मत दिन्छन् होला ? यसको अनुमान सायद राजनीतिक दल र तिनका उमेरद्वारलाई पनि हेक्का छैन  होला । तर यो कुरा सबैलाई थाहा छ कि यदि मतदाताले स्वतन्त्र रुपमा मताधिकारको प्रयोग गर्न पाउँने हो भने उनिहरुको घोषणापत्र होइन उमेद्वारको इमान्दारिता, उसले विकासमा गरेको योगदान, समाज ससंगको घुलमेल

​लोग्ने मान्छे भएर रुनु हुँदैन ?

आइतबार प्रचण्डको मनमा पनि पक्कै पीडा उर्लिएको थियो, धर्ती छाडेर गएको छोरोको शवलाई अंगालो हालेर ग्वाँ–ग्वाँ रोऊँ । तर, उनी सम्हालिए । 
Top